जीएनएम : पहाड़को कोटामा पहाड़कै विद्यार्थीहरूले पाउनुपर्ने जीएनडब्ल्यूओको माग

0
1391
ज्ञापन चढ़ाउँदै जीएनडब्ल्यूओका प्रतिनिधिहरू।

दार्जीलिङ, २ अगस्त : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को नारी एकाइ गोर्खा राष्ट्रिय नारी सङ्गठन (जीएनडब्ल्यूओ)-ले दार्जीलिङ पहाड़मा रहेका नर्सिङ ट्रेनिङ स्कूल (एनटीएस)-मा पहाड़कै विद्यार्थीहरूले भर्ना पाउनुपर्ने माग राखेको छ।

 आज यसै विषयलाई लिएर जीएनडब्ल्यूओले जिल्ला अस्पतालमा अस्पतालमा धरना प्रदर्शन गर्नका साथै सीएमओएचलाई ज्ञापन पनि चढ़ाएर सम्बन्धित मागप्रति समुचित पहल गरिदिने माग गरेको छ। यद्यपि सीएमओएचको अनुपस्थितिमा उक्त ज्ञापन एसओलाई बुझाइएको छ।

ज्ञापनमा पहाड़का नर्सिङ ट्रेनिङ स्कूलमा समतलका धेरै विद्यार्थी छनोट गरिएकोले यसलाई पहाड़का विद्यार्थीहरूका लागि अपमान बताएको छ। साथै पहाड़का एनटीएसमा पहाड़कै विद्यार्थीहरू छनोट हुनुपर्ने तथा समतलका कति विद्यार्थी छनोट गरिएको छ, त्यसको जानकारी मागिएको छ।

यसबारे बोल्दै जीएनडब्ल्यूओ नेतृ मञ्जिला तामाङले भनिन्, ‘पहाड़का एनटीएसहरूमा यहाँका विद्यार्थीहरूभन्दा धेरै बाहिरका विद्यार्थीहरूले भर्ना पाएका छन्। दार्जीलिङ पहाड़को कोटा दार्जीलिङमा ५० वटा र कालेबुङमा ४० भन्दैछ। तर, सम्पूर्ण जानकारी माग्दा पनि हामील पाएको छैनौं।’

यसलाई फारम अनलाइन भरेको र प्रतिशतको हिसाबले धेरजसो विद्यार्थीहरू बाहिरबाट आएको बताइन्। ‘यदि यो पहाड़को कोटा हो भने पहाड़कै विद्यार्थीहरूले पाउनुपर्ने हो। तर, विज्ञान विषयका ७८ प्रतिशतसम्म अङ्क ल्याएका स्थानीय विद्यार्थीहरूले पनि छनोट भएका छैनन्’, तामाङले थपिन्, ‘एसटी, एससी र जेनेरलको कोटामा पनि स्थानीयहरूले पाएका छैनन्। के कारण नपाएका हुन्। के हाम्रा नानीहरू पढ़ेर पनि बाहिर नै काम गर्न जानुपर्ने हो भन्ने हाम्रो प्रश्न छ। किनभने त्यसै पनि पहाड़मा बेरोजगार समस्या छ।’

पहाड़का कोटामा पहाड़कै विद्यार्थीहरूले पाउनुपर्ने जीएनडब्ल्यूको माग रहेको पनि उनले बताइन्। ‘यो हाम्रो अधिकार हो। हाम्रा विद्यार्थीहरूको कोटामा बाहिरकाहरू छनोट हुनु पाउँदैन’, उनले भनिन्। मञ्जिला तामाङका अनुसार आज पनि उनीहरूले सीएमओएचलाई भेटिएन। पछिल्लो दुई महिनादेखि विभिन्न समस्याबारे सीएमओएचलाई भेट्न नसकिरहेको पनि जनाइन्। अहिलेसम्म जीएनडब्ल्यूओले सीएमओएचलाई किन भेट्न नसकिरहेको भन्ने पनि उनले प्रश्न गरेकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here