हराएका मोबाइलसँगै फाउमा रुखका बिरुवा

0
908

दार्जीलिङ, 2 अगस्तः दार्जीलिङ पुलिसले दार्जीलिङका 41 जनालाई हराएको मोबाइलसँगै फाउमा एक-एकवटा रुखका बिरूवा पनि प्रदान गऱ्यो।

फाउमा पाइएको बिरुवालाई रोपेर त्यसको स्याहार-सुसार गर्ने पनि पुलिसले उनीहरूलाई जिम्मा दिएको छ।

दार्जीलिङ पुलिसले हराएका वा चोरी भएका मोबाइल फोनहरू उद्धार गरेर मोबाइलका सही मालिकहरूलाई फर्काउने अभियान शुरू गरेको छ, जसमध्ये कतिवटा मोबाइल दार्जीलिङ पुलिसले सिक्किमबाट पनि उद्धार गरेको बताएको छ।

यसरी नै मोबाइलसँगै प्रदान गरिएको बिरुवालाई आ-आफ्ना घरका बारी वा छेउछाउका क्षेत्रमा रोपेर स्याहार-सुसार गर्ने पनि जिम्मेवारी दिएको छ। ताकि दार्जीलिङलाई हरियाली बनाउन सकियोस् अनि पैह्रोको रोकथाम पनि हुनसकोस्।

यसबारे दार्जीलिङका पुलिस अधीक्षक एस. निम्बलकरले भने, “दार्जीलिङ सदर थानामा दैनिक रूपमा नै मोबाइल हराएको उजुरी प्राप्त हुने गरेको छ। मोबाइल मानिसहरूका लागि सामान्य चीज मात्रै होइन, वर्तमान समयमा मोबाइल फोन आम मानिसहरूका लागि अत्यावश्यक बनिसकेको छ। मोबाइल छैन भने मानिसहरूका धेरै काम नै हुँदैन। यसैले दार्जीलिङ पुलिसले चोरी भएका वा हराएका मोबाइल फोन खोज्ने एक अभियान नै चलाइरहेको छ। यसै अभियानअन्तर्गत भेट्टाइएका मोबाइलहरू यसका सही मालिकलाई फर्काउने कार्य भइरहेको छ।”

उनले थपे, “मोबाइल फर्काउने समय मोबाइलका मालिकहरूलाई एक-एकवटा रूखको पौधा पनि दिने गरिएको छ, ताकि ती मानिसहरूले एक-एकवटा रुख रोपेर दार्जीलिङ पहाड़लाई हरियाली बनाउनमा सहयोग प्रदान गरून्। गाउँ-बस्तीतिर रुखहरू व्यापक मात्रामा बढ़े, यसले पर्यावरणलाई पनि धेरै फाइदा पुग्नेछ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here