गान्तोक, 2 अगस्तः राज्यमा ‘एक राष्ट्र एक राशन कार्ड’ (ओएनओआरसी)-लाई विभिन्न पक्षबाट विरोध भइरहको समयमा राज्यको एसकेएम-भाजपा गठबन्धन सरकारले भने भ्रामक बयानबाजी गरिरहेको आईएम 371एफ अभियान समितिका संयोजक पासाङ शेर्पाले आरोप लगाएका छन्।
पासाङ शेर्पाले प्रेस बयान जारी गरेर भनेका छन्, “सिक्किम र सिक्किमेलीको अस्तित्वलाई सङ्कटमा पार्ने दूरगामी परिणामको सम्भावना बोकेको ओएनओआरसीलाई विधानसभाको परामर्शबिनै जबर्जस्ती लागू गरेपछि आम सिक्किमेली जनमानसको पुरजोर विरोधको सामना गर्नु परिरहेको एसकेएम-भाजपा गठबन्धन सरकारले आफ्नो भुल स्विकार्नुका सट्टा निरर्थक र भ्रामक बयान बाजी गरिरहेको छ। ‘ओएनओआरसी न कानून हो, न नियम नै हो’ भन्ने आधिकारिक बयान जारी गरेर एसकेएम ओएनओआरसी केवल एउटा षड्यन्त्र मात्र रहेको प्रष्ट पारे को छ। कानून र नियम सम्बन्धित कुनै सरोकार नराख्ने गैरजिम्मेवारी सरकारले सिक्किमेमाथि आफ्नो हुकुम थोप्दै छ।”
उनले थप भनेका छन्, “जनताको आशङ्कालाई सम्बोधन गरेर सिक्किमेली र सिक्किमको सुरक्षा कवज धारा 371एफ प्रतिको प्रतिबद्धता सुनिश्चित गर्नको सट्टा अनर्गल तर्क पेश गरेर एसकेएम-भाजपा गठबन्धनले आफ्नो सिक्किमविरोधी चरित्रलाई उदाङ्गो पारेको छ। सत्ता, चौकी, पैसा र भोग-विलासमा चुर्लुम्म डुबेका अधिनायकवादी सरकारले चुनाउ अघि सिक्किमेली जनतालाई दिएका वचनहरूलाई वेवास्ता गर्दै सिक्किमेको मौलिक र संवैधानिक अधिकारहरूमाथि खेलाँची गरिरहेको छ। सिक्किमेली जनताले गुमाएका अधिकारहरू हामी पुनर्बहाली गर्नेछौँ भनी चुनाउअघि डङ्का पिट्ने पार्टीले अहिले आएर सिक्किममा पहिल्यैबाट केन्द्रिय कानूनहरू लागू भएको दृष्टान्त देखाएर ओएनओआरसीको वकालती गर्नु सिक्किमका लागि ठूलो दुर्भाग्यको हो।”
एसकेएम-भाजपा गठबन्धन सरकार कुनै पनि रूपमा सिक्किमको हितमा नरहेको दाबी गर्दै सिक्किम र सिक्किमेलीको सुरक्षाको जिम्मेवारी हरेक सर्वसाधारण जनतामाथि आइपरेको पासाङ शेर्पाले बताएका छन्।
साथै सिक्किमका लागि यो विकराल घड़ी हो भन्दै उनले सिक्किम र सिक्किमेलीको अस्तिव र विशिष्ट पहिचानलाई जोगाइराख्न सबै एक भएर अघि बढ़्नुपर्ने आह्वान गरेका छन्।