स्वप्नाको घर पुगेका अहलुवालियाको घोषणा – केन्द्रले 30 लाख रुपियाँ र नोकरी दिनेछ

0
1193
स्वप्नाकी आमा बासनालाई उपहार दिँदै दार्जीलिङका सांसद एसएस अहलुवालिया।

कोलकाता, 2 सेप्टेम्बर  : उत्कट इच्छा, दृढ़ विश्वास र लगातार सङ्घर्षले रेकर्ड उपलब्धिको शिखर चुमेकी स्वप्ना बर्मनलाई केन्द्र सरकारले 30 लाख रुपियाँ र नोकरी दिने घोषणा गरेको छ। शनिवार दार्जीलिङ लोकसभा समष्टिका सांसद एवं केन्द्रिय राज्य मन्त्री एसएस अहलुवालियाले यस्तो घोषणा गरेका हुन्। यो घोषणा गर्न सांसद अहलुवालिया सालियागञ्जस्थित स्वप्नाको घर नै गएका थिए। देशकी पहिलो महिला एथलीटको रूपमा हेप्टाथलनमा स्वप्नाले स्वर्ण पदक जितेर रेकर्ड आफ्नो नाममा गरेकी छन्।
स्वप्नाको जलपाइगढ़ी सदर ब्लकको पातकाटा ग्राम पञ्चायतको घोषपाड़ास्थित घरमा शनिवार बिहानैदेखि बधाई दिने मानिसहरूको ताँती लागेको थियो। दार्जीलिङका भाजपा सांसद अहलुवालिया पनि स्वप्नाको घर पुगेका थिए। यसअवधि सांसदले स्वप्नाकी आमा बासना बर्मन र केन्द्रिय खेल एवं युवा कल्याण मन्त्री राज्यवर्द्धन सिंह राठौरसँग कुराकानी गराए। यसै कुराकानीमा केन्द्रिय खेल एवं युवा कल्याण मन्त्री राठौरले केन्द्र सरकारको तर्फबाट स्वप्नाका लागि 30 रुपियाँ पुरस्कारस्वरूप दिने बताए। अहलुवालियाका अनुसार केन्द्रिय मन्त्री स्वप्नालाई केन्द्र सरकारको तर्फबाट नोकरीको प्रस्ताव पनि दिएको छ।
म प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश लिएर आज स्वप्नाको घर आएको हुँ, उनले भने। सांसद अहलुवालियाले स्वप्नाका आमा-बाबलाई शाल, पुष्पगुच्छा तथा अन्य उपहार दिएर सम्मान जनाए। यसअवसरमा उनले स्वप्नाको आमासँग केहीक्षण कुराकानी गरे। सांसदलाई स्वप्नाकी आमाले चरम आर्थिक समस्या र प्रतिकूल परिस्थितिबीच स्वप्नाको खेल यात्राबारे बताइन्।
यता, संवाददाताहरूसँग बोल्दै अहलुवालियाले भने, एशियाडमा जसले पदक जितेका छन्, उनीहरूसँग 4 सेप्टेम्बरको दिन केन्द्रिय खेल मन्त्रीले भेट गर्नेछन्। सबैलाई पुरस्कृत गर्नेछन्।
अहलुवालियाका अनुसार यसै दिन केन्द्रिय मन्त्रीले स्वप्नालाई 30 लाख रुपियाँ सुम्पिनेछन्। केवल स्वप्ना मात्र होइन, तर उनका भाइहरूलाई पनि केन्द्र सरकारले हेर्नेछ।
यो भेटघाटको अवसरमै उनले स्वप्नालाई  कहाँ के नोकरी दिइनेछ, त्यसबारे पनि सांसदले बासना बर्मनसँग कुराकानी गरे। यससम्बन्धमा उनले भने, बाल्यकालदेखि नै स्वप्ना रेल नजिक हुर्कीबढ़ेकी हुन्। ट्रेनको आवाज सधैँ उनले सुनेकी हुन्। त्यसैले रेलमा नोकरी पाए सबैभन्दा राम्रो हुनेछ।
स्मरणरहोस्, यसभन्दा अघि राज्य सरकारको तर्फबाट स्वप्नालाई 10 लाख रुपियाँ दिने घोषणा गरिएको थियो। अर्कोतिर एथलीट धुती चन्दलाई ओड़िशा सरकारले तीन करोड़ रुपियाँ दिने घोषणा गरेपछि विवाद शुरु भएको छ। सोशल मीडियामा राज्य सरकारद्वारा केवल 10 लाख रुपिया दिने राज्य सरकारको घोषणाप्रति धेरैले असन्तुष्टि जताएका छन्।
सड़कको पक्की बनाउने कार्य शुरु
सबै प्रकारको आवेदन-निवेदनपछि पनि स्वप्नाको गाउँको सड़क पक्की हुन सकेको थिएन, तर अहिले यो कच्चा सड़क रातोरात पक्की बनाइने कार्य शुरु भएको छ। पातकाटा ग्राम पञ्चयतको तर्फबाट की स्वप्नाको घरको बाटो र द्वारलाई कङ्क्रिटको ढलाइ गरी पक्की बनाइँदैछ।
स्वप्नाकी आमा र स्थानीय मानिसहरूका अनुसार वर्षौंदेखि बाटो कच्चा भएको कारण धेरै समस्या झेल्न पर्थ्यो। तर अहिलेसम्म कसैले यसलाई ध्यान दिएको थिएन। अहिले सबैजना सोध्न आइरहेका छन्।
खुशीको कुरा स्वप्नाको सफलताले गाउँको बाटो ठीक हुँदैछ। स्थानीय मानिसहरूलाई आशा छ, गाउँमा अझ विकासकार्य हुनेछ। सड़क बनाइरहेका ठेकेदार भन्छन्, सदर बीडीओले युद्दस्तरमा काम गरी कच्चा सड़कलाई पक्का बनाउने आदेश दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here