दार्जीलिङ, 2 सेप्टेम्बरः ऐतिहासिक असम सम्झौता 1985 अन्तर्गत लागू गरिएको राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी)- बाट कति सङ्ख्यामा नेपालीभाषी गोर्खाहरू छुटे भन्नेसम्बन्धमा निश्चित आँकड़ा प्रकाशमा आएको छैन। यो आँकड़ा प्रकाशमा आउन एक करिब एक साता समय लाग्नेसक्ने अनुमान गरिएको छ।
धेरैले करिब 1 लाख गोर्खा एनआरसीमा नपरेको बताइरहेका छन्। यद्यपि यो सङ्ख्या आधिकारिक आँकड़ा होइन, उनीहरूले लगाएको अनुमान मात्र हो। अनुमान लगाएरै 1 लाखभन्दा बढ़ी सङ्ख्या बताउनेहरू त्यहाँका केही मानिसले पनि यो सङ्ख्या कम्ती हुनसक्ने बताइसकेका छन्। यद्यपि आधिकारिक आँकड़ा हात नपरेसम्म एनआरसीबाट यति गोर्खा छुटे भनेर किटान गरिहाल्नु हतारो मात्र हुनेछ।
असम गोर्खा सम्मेलनका महासचिव किशोर उपाध्यायका अनुसार एनआरसीमा छुट्ने गोर्खाहरूको सङ्ख्या करिब 60 हजारभन्दा धेर नहुनसक्छ। “हो खाँटी असेमली गोर्खाहरू पनि एनआरसीबाट छुटेका छन्। तर, मेरो अनुमानको आधार यो सङ्ख्या करिब 60 हजारभन्दा धेर नहुनुपर्ने हो”, उपाध्यायले जनसंवादसँग टेलिफोनिक कुराकानीअवधि भने।
किशोर उपाध्याय असमका सत्तारूढ़ पार्टी भाजपाका प्रदेश महासचिव पनि हुन्। “आधिकारिक आँकड़ा हातमा नआएसम्म 1 लाखभन्दा बढ़ी गोर्खा एनआरसीबाट छुटिए भन्नु ‘पेनिक’ बनाउनु मात्र हो’, उनले थपे, “छुट्नेहरूको सङ्ख्या 60 हजारभन्दा बढ़ी छजस्तो मलाई लाग्दैन।”
उपाध्यायकै दिदी दुर्गा देवीको नाम पनि एनआरसीबाट छुटेको छ। “मेरा दाजु-भाइ, आमा-बाबा सबैको नाम एनआरसीमा आयो। तर, दिदीको नाम आएन”, उनले दाबी गरे, “यो त्यति ठूलो समस्या होइन। दिदीको नाम अवश्यै एनआरसीमा पर्नेछ। नाम छुट्नेहरूका लागि सरकारले आवेदन गर्नका लागि पर्याप्त समय दिएको छ।”
दिदीको नाम के कारण एनआरसीबाट छुटे त? यसको निश्चित कारण उनलाई थाह छैन। तक्निकी कारणले नाम छुटेको हुनसक्ने उनको अनुमान छ। यसरी नाम छुट्नेहरूमा उनकी दिदी मात्र होइनन्, धेरै छन्।
उनका अनुसार यस्ता गल्ती धेरै छन्। कसैका बावु-आमाको नाम एनआरसीमा छ। तर, छोरा-छोरीको नाम छैन। कसैका छोरा-छोरीको नाम एनआरसीमा छ। तर, आमा-बावुकै नाम छैन।
“यस्ता गल्ती संशोधित हुँदै जाँदा अन्त्यमा 15-20 हजार गोर्खा एनआरसीमा नपर्न सक्छन्”, किशोर उपाध्यायले थपे, “तथापि हाम्रा मानिसहरूले चिन्ता गर्नुपर्ने ठूलो कुनै कारण छैन। सरकारले कुनै कानून बनाएर पनि ती छोड़िएकाहरूलाई केही व्यवस्था गर्नेछ।”
अर्कोतिर, असमका गोर्खाहरूको चारवटा शीर्षस्थ सङ्गठन क्रमैले असम गोर्खा स्टुडेन्ट युनियन, असम गोर्खा सम्मेलन, असम नेपाली साहित्य सभा र भारतीय गोर्खा परिसङ्घ असम राज्य कमिटीको आइतवार सभा बस्यो।
असम गोर्खा स्टुडेन्ट युनियनका अध्यक्ष प्रेम तामाङले सभामा विशेषगरी एनआरसीमा गोर्खाहरू छुटिएको विषयमा चर्चा परिचर्चा गरिएको बताए। तामाङका अनुसार चारै सङ्गठनले एनआरसीमा नाम नपरेका गोर्खाहरूका लागि विगतदेखि कार्य गर्दै आएको र आगत दिनमा पनि काम गर्ने प्रतिबद्धता जाहेर गर्दै छुटिएका गोर्खाहरू चिन्तित नहुने अपीलसमेत गरेका छन्।
प्रेम तामाङका अनुसार एनआरसीमा छुट्ने गोर्खाहरूमा धेरजसो महिला छन्। सानैमा विवाह भएका धेरजसो महिलाले आफ्नो र आफ्ना बावुका सटिक दस्तावेजहरू बुझाउन नसकेकोले यस्तो समस्या सिर्जना भएको उनको भनाइ छ। “यो ठूलो समस्या होइन, त्यस्ता महिलाहरूको नाम एनआरसीमा पर्नेछ”, आग्सु अध्यक्ष तामाङको दाबी छ।