दार्जीलिङ, २ सेप्टेम्बर : राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी)-बाट असमका गोर्खाहरू छुटेको सम्बन्धमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाले केही दिनदेखि लगातार रूपमा दृष्टि राखिरहेको विमल गुरुङले बताएका छन्।
गुरुङले सोमवार एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, ‘भारत देश स्वाधीन हुनअघिदेखि नै गोर्खाहरू यहाँको माटोमा थिए। असमको सन्दर्भमा गोर्खा इतिहास हेर्नु हो भने ब्रिटिश इस्ट इण्डिया कम्पनीले १८१७ -मा कटक लिजन भन्ने सेनाको कम्पनी असम लगेदेखि नै गोर्खाहरूको असमसँगको सम्बन्ध रहेको इतिहासले बताउँछ। यस कटक लिजनलाई नै पछि असम लाइट इन्फेन्टरी नाम दिइएको थियो, जसमा भएका गोर्खा सेनाले सिलहट अपरेशनमा युद्ध लड़ेका थिए। यसले प्रमाणित गर्दछ, असमको समाजमा गोर्खाहरूको सम्बन्ध लगभग २ सय वर्षभन्दा अधिक समयदेखि छ।’
यसरी दुइ शतकभन्दा अधिक असमको भूमिलाई सेवा पुऱ्याएका अनि आजको वर्तमान समयमा असमको समाज, अर्थनीति अनि विकासका लागि अहम भूमिका निर्वाह गरिरहेका गोर्खाहरू एनआरसीबाट बाहिरिनु हुँदैन भन्ने गोजमुमोको अड़ान रहेको उनले बताएका छन्।
‘खाँटी भारतीय गोर्खाहरू एनआरसीबाट छुटेको हुनुहुँदैन भन्ने अभिप्रायमा चाँड़ै नै हामीले दार्जीलिङ पहाड़का निर्वाचित जनप्रतिनिधिगण (विधायक अनि सांसद)-लगायत पार्टीका प्रतिनिधिहरूलाई असममा वास्तविकता बुझ्न पठाउने निर्णय गरेका छौं। उनीहरूले सही तथ्य बुझेर सही स्थानमा यस मामिलालाई पुऱ्याउने कुरामा हामी विश्वस्त छौं। हामी सदैव जाति, न्याय अनि सत्यको पक्षमा उभिने छौं भन्ने प्रतिबद्धता असमेली समाजलाई जनाउन चाहन्छौं’, विमल गुरुङले विज्ञप्तिमा भनेका छन्।