जीटीएका कर्मचारीहरूको पेनडाउन हड़ताल शुरू: हड़ताललाई विनयपन्थी मोर्चाको समर्थन

0
1062

दार्जीलिङ, 2 सेप्टेम्बरः जीटीएका पे-व्याण्ड कर्मचारीहरूले स्थायीकरणको मागमा आजदेखि पेनडाउन हड़ताल शुरू गरेका छन्।

जीटीए बीओएका अध्यक्ष अनित थापाले जीटीएका कर्मचारीहरूलाई पेनडाउन हड़ताल स्थगित गर्ने अपील गरे पनि उनीहरूले पेनडाउन हड़ताल शुरू गरे।

यति मात्रै होइन, उनकै पार्टी गोर्खा जनमुक्ति मोर्चा (विनयपन्थी)-ले यी कर्मचारीहरूको आन्दोलनलाई अझै जोड़दार बनाउन साथ दिने घोषणा पनि गरेको छ।

आज यी कर्मचारीहरूले पेनडाउन हड़ताल गरिरहेको जीटीए कार्यालय लुइस जुब्ली पुगेर विनयपन्थी गोजमुमो केन्द्रिय समिति प्रवक्ता केशवराज पोख्रेलले हड़तालरत् एकीकृत कर्मचारी सङ्गठन गोजमुमोकै एक भ्रातृ सङ्गठन रहेकाले पार्टी सधैँ जीटीएका कर्मचारीहरूको साथमा रहेको बताए।

यसैगरी यी कर्मचारीहरूको स्थायीकरणका लागि जीटीए बीओए अध्यक्ष अनित थापाले मुख्यमन्त्रीलाई पत्राचार गरिसकेको र पार्टीको पक्षबाट पनि अध्यक्ष विनय तामाङले पनि मुख्यमन्त्रीलाई शीघ्रै पत्राचार गर्ने पनि पोख्रेलले जानकारी गराए।

“एकीकृत कर्मचारी सङ्गठन गोजमुमोकै एक भ्रातृ सङ्गठन हो। उनीहरू पार्टीकै सदस्यहरू हुन्’’, उनले भने।

यसैले जीटीएका कर्मचारीहरूले आजदेखि शुरू गरेको आन्दोलनलाई साथ दिन पार्टी अध्यक्ष विनय तामाङको सन्देश लिएर आफू लुइस जुब्ली आएको प्रवक्ता पोख्रेलले बताए।

उनका अनुसार यी कर्मचारीहरूले जबसम्म न्याय पाउँदैनन्, तबसम्म गोर्खा जनमुक्ति मोर्चा उनीहरूको साथमा रहनेछ। साथै यो आन्दोलनलाई अझै जोड़दार बनाएर लान पूर्ण साथ दिनेछ।

विगतका नेतृत्वहरूको भूलले गर्दा नै यी कर्मचारीहरूको स्थायीकरणको माग पूर्ण नभएको पनि विनयपन्थी मोर्चा प्रवक्ता केशवराज पोख्रेलले बताए।

उनका अनुसार यदि सन् 2009-मा नै यी कर्मचारीहरूको स्थायीकरण भएको भए आज यी कर्मचारीहरूले यस्तो दिन देख्न पर्ने थिएन। किनभने, सन् 2009-मा नै राज्य सरकारले 3,472 जना कर्मचारीहरूलाई स्थायी गराउने अध्यादेश जारी गरेको थियो।

यसैबीच, एकीकृत कर्मचारी सङ्गठनका महासचिव डीपी खवासले वर्ष 2009-मा 3,472 जनालाई स्थायी गर्ने सरकारको आदेश भए पनि स्थायी नगरिएका कारण नै जीटीएका कर्मचारीहरूले अझैसम्म दुःख भोग्न परिरहेको बताए।

उनले भने, “सन् 2009-मा दागोपापका कर्मचारीहरूले अनशन बसेर 3,472 कर्मचारीलाई स्थायी गराउने दिशामा राज्य सरकारबाट एक अध्यादेश जारी गर्न लगाइएको थियो, तर दागोपापकै शीर्ष पदाधिकारीहरूको उदासीन नीतिको कारण त्यो कार्य पनि हुनसकेन। त्यसपछि सन् 2011-मा जीटीएमाथि त्रिपक्षीय सम्झौता भयो अनि जीटीएलाई ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीका पदहरूमा कर्मचारी नियुक्त गर्नसक्ने क्षमता प्रदान गरेको थियो, तर जीटीएले पनि स्थायीकरणको दिशामा कुनै पहल गरेन। तरै पनि अब जीटीएले ठोस कार्य गर्ने विषयमा कर्मचारीहरू आश्‍वस्त छन्।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here