अन्ततः निमडोमाका परिवारले पायो न्याय

0
1091

दार्जिलिङ, २ सेप्टेम्बर: सिलगढ़ीको एउटा नर्सिङ होमले दार्जिलिङकी निमडोमा लामाको परिवारलाई क्षतिपूर्तिस्वरूप २ लाख ३४ हजार रुपियाँ फर्काउन पर्नेछ।

कलकत्ताको पश्‍चिम बङ्गाल क्लिनिकल इस्टाब्लिजमेन्ट रेगुलेटरी कमिसनले सिलगढ़ीको उक्त नर्सिङ होमलाई यो राशि ३ किस्तामा निमडोमाको परिवारलाई आउँदो ३१ सेप्टेम्बरभित्र फर्काउने निर्देश दिएको छ।

य विषयमा हिजो कमिसनका न्यायाधीश असीम कुमार ब्यानर्जीले अन्तिम फैसला सुनाएका हुन्।

उल्लेखनीय छ, पछिल्लो मई महिनामा निमडोमाकी आमा विजया राईलाई सामान्य खोकीका कारण दार्जिलिङको एउटा नर्सिङ होममा भर्ना गरिएको थियो। तर, उनको अक्सिजन लेबल धेरै घटेपछि दार्जिलिङको उक्त नर्सिङ होमले विजया राईलाई सिलगढ़ीमा लगेर उपचार गराउने सल्लाह दिएको थियो। फलस्वरूप निमडोमा र उनका पिताले आमा विजयालाई सिलगढ़ीको एभ्लोन नर्सिङ होममा २२ मईका दिन उपचारका लागि भर्ना गराएका थिए।

यस नर्सिङ होममा विजयाको स्वास्थ्य अवस्थामा सुधार आउन सट्टा झनै बिग्रिँदै गयो।

यति मात्रै होइन, भर्ना २०  दिनभित्रै विजयाको उपचारका लागि यो नर्सिङ होमले ८ लाख रुपियाँभन्दा अधिक रकम लिएको थियो।

यसैले यो नर्सिङ होमले आफूहरूलाई अत्यधिक ठगेको अनुभव भएपछि निमडोमाका परिवारले यस नर्सिङ होमविरुद्ध अत्यधिक बिल लिनका साथै उपचारमा धेरै लापरवाही गरेको भन्दै पश्‍चिम बङ्गाल क्लिनिकल इस्टाब्लिजमेन्ट रेगुलेटरी कमिसनसमक्ष मुद्दा दर्ता गरेको थियो।

यसै मुद्दामा कमिसनले हिजो अन्तिम फैसला सुनाएको हो।

कमिशनले  यो नर्सिङ होमलाई निमडोमाका परिवारलाई ३१ सेप्टेम्बरभित्र २ लाख ३४ हजार रुपियाँ क्षतिपूर्ति भुक्तान गर्ने निर्देश दिएको छ।

यदि यस विषयबाट नर्सिङ होम टाढ़ा भाग्न खोजे नर्सिङ होमविरुद्ध दार्जिलिङ जिल्लाका मुख्य स्वास्थ्य अधिकारीलाई उचित कारबाही गर्ने पनि अधिकार दिएको विकरन फाउन्डेसनको कानुनी सहयोग टोलीका सदस्य एवं अधिवक्ता रिमेश मोथेले जानकारी गराएका छन्।

यसबारे निमडोमासित प्रश्‍न गर्दा उनले आफ्ना परिवारले न्याय पाउन सकेको बताउँदै यसका लागि विकरन फाउन्डेसनप्रति आभार व्यक्त गरेकी छन्।

विशेष कोरोना सङ्क्रमणकालबिचे रोगी परिवारहरूले कतिपय नर्सिङ होमहरूबाट पाएका यातना र समस्यालाई ध्यानमा राखेर नै उनीहरूलाई सहयोग गर्नका लागि विकरन फाउन्डेसनले एउटा कानुनी टोली गठन गरेको थियो, जसले प्रथममा नै निमडोमा लामाको परिवारले भोग्न परेका समस्यालाई आफ्नो हातमा लिएर यो समस्याका समाधानसमेत गरिदिएको छ।

विकरन फाउण्डेशनले आम जनतालाई ठग्ने नर्सिङ होमहरूका लागि यो फैसला गतिलो पाठ र आम जनताका लागि पनि एउटा ठूलो सचेतनामूलक कार्यक्रम हो भन्ने बताएको छ। किनभने, दार्जिलिङ पहाड़का अधिकांश मानिसहरू बिरामी भएपछि उपचारका लागि सिलगढ़ी नै जाने गरेका छन् अनि सिलगढ़ीमा धेरैवटा नर्सिङ होमले पहाड़का सोझा जनतालाई ठग्ने गरेका छन्।

यसैले यस्ता नर्सिङ होमहरूविरुद्ध सबै सचेत हुन आवश्यक छ।

यस्ता समस्या झेल्न बाध्य बनिरहेका जो कोही पनि विकरन फाउन्डेसनको कार्यालयमा आएर निःशुल्क सेवा प्राप्त गर्नसक्ने पनि बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here