शुक्रवार 12 घण्टे पहाड़, भोलिदेखि अनशन शुरु

0
1358
मोटर स्ट्याण्डमा आयोजित जनसभा।

दार्जीलिङ, 2 अक्टोबर : दार्जीलिङ पहाड़का चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस दिइनुपर्ने मागमा विभिन्न आन्दोलनात्मक कार्यक्रमको घोषणा गरेका पहाड़का श्रमिक सङ्गठनहरूले आउँदो शुक्रवार अर्थात् 4 अक्टोबरको दिन 12 घण्टे पहाड़ बन्दको घोषणा गरेका छन्।

श्रमिक सङ्गठनहरूले श्रमिकहरूको पक्षमा 12 घण्टे बन्दलाई पालन गरी सफल बनाइदिनका लागि पहाड़का मानिसहरूले अपीलसमेत गरेका छन्।

यसका साथै भोलिदेखि अनशन बस्नेसमेत घोषणा गरिएको छ। अनशन बस्नअघि स्थानीय रेलवे स्टेशनदेखि अनशनस्थलसम्म र्‍याली निकालिनेछ।

उल्लेखनीय छ, स्थानीय डीटीए कार्यालयमा पाँचौं चरणसम्मको बैठकमा पनि बोनसबारे छिनोफानो नभएपछि केही दिनअघि राज्य सरकारको पहलमा कोलकातामा पहाड़का चियाश्रमिकहरूका लागि त्रिपक्षीय बैठक बसिएको थियो। तर, उक्त बैठकमा मालिकपक्ष केवल 15 प्रतिशत बोनस दिने कुरामा अडिग बसेपछि उक्त बैठक पनि विफल भयो। जसको फलस्वरूप दशैंअघि चियाश्रमिकहरूले बोनस नपाउने लगभग निश्चित भएको छ।

अर्कोतिर, कोलकाताको बैठक विफल बनेपछि आन्दोलित बनेका श्रमिक सङ्गठनहरूले पहाड़ बन्द र अनशनजस्ता कार्यक्रमको घोषणा गरेका हुन्। आज पहाड़का श्रमिक सङ्गठनहरूले दार्जीलिङमा र्‍याली तथा जनसभा गरेका थिए। जसमा उनीहरूले यसपटक पहाड़का चियाश्रमिकहरूले 20 प्रतिशतकै दरले बोनस पाउनुपर्ने माग दोहोर्‍याए।

यसैबीच, गोर्खा जनमुक्ति मोर्चाको श्रमिक सङ्गठन दार्जीलिङ तराई, डुवर्स प्लाण्टेशन लेबर युनियनकी अध्यक्ष करुणा गुरुङले यसबारे बोल्दै भनिन्, “हामीले भोलिदेखि विभिन्न कार्यक्रम गर्ने निर्णय गरेका छौं। जसअन्तर्गत अनशन र र्‍याली रहनेछन्। अनशन बिहान 10 बजेदेखि शुरु हुनेछ। यसभन्दा अघि स्थानीय रेलवे स्टेशनबाट अनशनकारीहरूलाई लिएर हामी र्‍याली निकाल्नेछौं।”

साथै आउँदो शुक्रवारको दिन 12 घण्टे बन्दलाई सफल बनाउनका लागि शहर परिक्रमा गरी स्थानीय व्यवसायीहरूलाई  अपील गर्ने पनि जानकारी गराइन्।

गुरुङले जानकारी गराएअनुसार एकाइस्तरमा पनि अनशन बसिनेछ। एकाईस्तरमा अनशन चियाकमानको गोदाम र कार्यालयअघि बसिनेछ। यद्यपि चियाश्रमिकहरूले दशैंको छुट्टी हुनअघिसम्म हरियो पत्ती भने टिप्ने उनको भनाइ छ।

अर्कोतिर, आफ्नो पार्टी गोजमुमोले पूर्वमा पहाड़ बन्द हुनेछैन भने तापनि आउँदो शुक्रवार गरिने पहाड़ बन्द चियाश्रमिकहरूका हक हित र अधिकारका लागि डाकिएकोले बन्दलाई सबैले सहयोग गरिदिने अपील गरेकी छन्।

श्रमिक सङ्गठनहरूका अनुसार पहाड़ बन्द केवल दार्जीलिङ, खरसाङ र मिरिकमा पालन गरिनेछ।

अर्कोतिर, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको श्रमिक सङ्गठन हिमालयन प्लाण्टेशन लेबर युनियनका महासचिव एसके लामा पनि चियाश्रमिकहरूको पक्षमा आउँदो 4 अक्टोबरको दिन दार्जीलिङ, खरसाङ र मिरिकवासीलाई 12 घण्टे बन्दलाई सफल बनाइदिने अपील गरेका छन्।

यसैबीच, आउँदो 4 अक्टोबर शुक्रवारसम्म पनि बोनस विषय कुनै छिनोफानो नभए सबै श्रमिक सङ्गठन पुनः बैठक बसेर आगत दिनको कार्यक्रमबारे निर्णय लिइने पनि बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here