दार्जीलिङ, 2 अक्टोबरः गोर्खा रङ्गमञ्च भवन वा भानुभवनमा अबोप्रान्त कुनै राजनैतिक कार्यक्रम हुनेछैन।
यसबारे भोलि नै जीटीएले एक आधिकारिक निर्देश जारी गर्नेछ।
गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले आज गोर्खा रङ्गमञ्च भवनमा कुनै राजनैतिक कार्यक्रम गर्न नहुनेबारे जीटीए बीओए अध्यक्ष अनित थापा, जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्तअघि अपील गरेपछि तत्कालै जीटीए बीओए अध्यक्ष थापाले यसबारे भोलि नै जीटीएले यसबारे एक आधिकारिक निर्देश जारी गर्ने घोषणा गरे।
यसका साथै थापाले भोलिदेखि नै गोर्खा रङ्गमञ्च भवन परिसरलाई आम जनताका लागि पनि खुल्ला राखिने घोषणा गरे।
गोर्खा रङ्गमञ्च भवनको टुप्पोमा गोर्खा सिपाहीको सालिग पुनः स्थापना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नै आज मोर्चा दोस्रो खेमाका अध्यक्ष तामाङले गोर्खा रङ्गमञ्च भवनमा अबोप्रान्त कुनै राजनैतिक कार्यक्रम गर्न नदिने अपील गरेका थिए।
स्मरण गराइन्छ, 8 जून 2017-का दिन गोर्खा रङ्गमञ्च भवनमा एक राजनैतिक कार्यक्रम भइरहेको थियो, जुन राजनैतिक कार्यक्रमबीच पहाड़मा आगो सल्किएको थियो।
त्यसपछि गोर्खा रङ्गमञ्च भवनलाई राज्य सरकारले आफ्नो कब्जामा लिएर कठोर सुरक्षाको घेरोमा राखेको थियो। जहाँ केही महिनाअघि मात्र जीटीएको सूचना एवं सांस्कृतिक विभागलाई आफ्नो कार्यालय सञ्चालन गर्ने अनुमति प्रदान गरिएको थियो। तरै पनि यहाँ आम जनतालाई प्रवेश गर्ने अनुमति थिएन।
आज गोर्खा रङ्गमञ्च भवनमा आयोजित सालिग पुनः स्थापना समारोहलाई सम्बोधन गर्ने क्रममा विनय तामाङले भने, “आज पुनः गोर्खा रङ्गमञ्च भवनको टुप्पोमा स्थापना गरिएको गोर्खा सिपाहीले आफ्नो खुकुरी महाकाल बाबाको मन्दिरतिर देखाएको छैन, त्यो खुकुरी सोझै चीनलाई देखाइएको छ। किनभने, चीन भारतको दुश्मन हो र गोर्खाको खुकुरी देशको दुश्मन देशमाथि देखाइएको छ।’’
यसरी नै उनले पूर्वका राजनैतिक नेताहरूले बनाएका चीजहरूलाई वर्तमान वा भावी सन्ततिले जोगाएर राख्नुपर्ने विषयमाथि जोड़ दिँदै गोर्खा रङ्गमञ्च भवन पनि सुवास घिसिङको दिशानिर्देशमा बनिएको बताए।
“पूर्वका नेता वा नेतृत्वहरूले बनाएका चीजहरूलाई भत्काउने कार्य बन्द गर्नुपर्छ। दार्जीलिङ पहाड़ले स्वच्छ राजनैतिक परिवेशको स्थापना गर्नुपर्छ भन्ने हाम्रो चाहना छ र यसै दिशामा हामीले काम गर्ने प्रयास गरिरहेका छौं’’, तामाङले थपे।
यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए बीओए अध्यक्ष अनित थापाले पनि विनय तामाङको कुरामाथि नै जोड़ दिए।
उनले भने, “पूर्वका नेताहरूले बनाएका चीजहरूलाई वर्तमानका नेतृत्वहरूले तोड्ने अनि वर्तमानका नेतृत्वहरूले बनाएका चीज भविष्यका नेताहरूले भत्काए, हामी जहाँ थियौं, त्यही रहनेछौं। यसैले यसप्रकारका क्रियाकलापहरू बन्द हुनपर्छ।’’
यसैबीच, हाम्रो वार्ड-स्वच्छ वार्ड, प्लास्टिकमुक्त हाम्रो नगरपालिका विषयवस्तुमाथि आधारित अन्तर वार्ड प्रतियोगितामा दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर 16 पहिलो, वार्ड नम्बर 21 दोस्रो र वार्ड नम्बर 18 तेस्रो भए।
त्यसैगरी खरसाङ नगरपालिकाका वार्ड नम्बर 7 पहिलो, वार्ड नम्बर 1 दोस्रो र वार्ड नम्बर 5 तेस्रो भएका छन्।
पहिलो हुने वार्डलाई 25 हजार, दोस्रोलाई 15 हजार र तेस्रोलाई 10 हजार रुपियाँ नगद राशि प्रदान गरियो।
विविध रङ्गारङ्ग कार्यक्रमहरूमाझ आयोजन गरिएको यस कार्यक्रममा दार्जीलिङ जिल्ला प्रशासन, पुलिस, जीटीएका शीर्ष पदाधिकारीहरू पनि विशेष रूपमा उपस्थित थिए।