बन्द-हड़तालको सट्टा पर्यटन व्यवसाय विकासका लागि कार्य गर्नुपर्ने सुझाउ

0
878

दार्जिलिङ, अक्टोबर दार्जिलिङ पहाड़मा अब बन्द-हड़ताल गर्नका सट्टा यहाँको पर्यटन व्यवसायलाई फस्टाउने दिशामा ठोस कार्य गर्नुपर्ने सुझाउ दार्जिलिङको हिमालयन ट्रान्सपोर्ट कोअर्डिनेसन कमिटीको छ।

साथै अबउसो दार्जिलिङ शहरका दोकानपाट पनि साँझ ६ बजेको सट्टा राति ८ बजे बन्द गरिनुपर्ने सुझाउ राखेको छ।

आज गान्धी जयन्तीको सुअवसरमा हिमालयन ट्रान्सपोर्ट कोअर्डिनेसन कमिटीले दार्जिलिङ जिल्ला प्रशासन र पुलिससँग मिलेर शहरको स्थानीय ट्राफिक पुलिस कार्यालयको प्रेक्षागृहमा एक सचेतना कार्यक्रमको आयोजन गरेको थियो।

यस सचेतना कार्यक्रममा विशेष गरी अबउसो पहाड़मा बन्द-हड़ताल जस्तो नचाहिने कार्यतिर नगएर पहाड़को अर्थनीतिलाई सुधार्ने दिशामा काम गर्नुपर्ने सुझाउहरू राखिएको ट्रान्सपोर्ट कोअर्डिनेसन कमिटीका अध्यक्ष एसएन प्रधानले जनाएका छन्।

“विगतमा बन्द-हड़ताल जस्ता क्रियाकलापका साथै आन्दोलनले गर्दा दार्जिलिङ पहाड़को अर्थनीति डाँवाडोल भएको थियो। त्यसपछि लगत्तै कोरोना महामारीले यहाँको अर्थनीतिलाई चौपट बनायो। यसैले अब बन्द-हड़तालजस्ता कार्य गरेर अझै यहाँको अर्थनीतिलाई शून्यमा झार्ने होइन। तर यहाँको अर्थनीतिलाई राम्रो बनाउने दिशामा कार्य गर्नुपर्छ”, उनले थपे, “यसैले दार्जिलिङको अर्थनीतिलाई राम्रो बनाउने एउटा माध्यम हो, यहाँको पर्यटन व्यवसाय। यसैले यहाँको पर्यटन व्यवसायलाई विकासको मार्गमा अघि बढ़ाएर यहाँको अर्थनीतिमा सुधार ल्याउन सकिन्छ।”

यसका लागि सम्पूर्ण गाड़ी चालक, होटल व्यवसायमा संलग्न व्यवसायीवर्ग साथै प्रशासनले मिलेर कार्य गर्न आवश्यक रहेको प्रधानको भनाइ छ।

यसरी नै उनले आजको यस कार्यक्रममा जीटीए क्षेत्रका होटल, होमस्टेहरूलाई पनि १०० प्रतिशतको क्षमतामा सञ्चालन गर्नुपर्ने विषयमाथि पनि जोड़ दिँदै गाड़ी चालकहरूले पनि पर्यटकहरूसित राम्रो व्यवहार गर्ने अनि उनीहरूलाई दार्जिलिङका प्रत्येक पर्यटन स्थलहरूका भ्रमण गराउने आह्वान गरे।

एसएन प्रधानले थपे, “दार्जिलिङका धेरै गाड़ी चालकले पर्यटकहरूलाई रकगार्डनदेखि गङ्गामाया पार्क लाँदैनन् भन्ने गुनासो सुनिएको छ। यसो गर्दा गाड़ी चालकहरूसँगै यहाँकै मानिसहरूलाई नोक्सन हुन्छ। यदि गङ्गामाया पार्कमा पर्यटकहरूलाई २ घण्टा नै राख्दा गाड़ी चालकहरूले गाड़ी भाड़ामा केही वृद्धि गर्न सक्नेछन्, त्यहाँ दोकान थापेर जीवन धान्नेहरूको व्यवसाय पनि चल्नेछ अनि जीटीएको राजस्व पनि केही हदसम्म बढ्नेछ।”

यति मात्रै होइन, रक गार्डन र गङ्गामाया पार्क साथै केही अन्य पर्यटन स्थलमा घुमाउँदा नै पर्यटकहरूका एक दिन बित्छ भने होटलको पनि व्यवसाय बढ़्ने हुनाले यी सम्पूर्ण विषयलाई ध्यानमा राखेर गाड़ी चालकहरूले पनि उचित कदम चालिदिए धेरै असल हुने उनले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here