श्रद्धाञ्जलिमा ताना : प्रसङ्गमा रामकृष्ण

0
891
  • ज्ञानेन्द्र खतिवडा

नेपाली साहित्यमा यात्रा निबन्धलाई पढौँ पढौँ बनाउने शिल्पी हुन् डा. ताना शर्मा ।

नेपाली साहित्यमा नियात्रा त्यत्तिकै सुन्दर, रम्य र उम्दा विधा बनाई पाठकलाई आफूसितै भ्रमणमा लिएर जाने  स्रष्टा हुन् डा. ताना शर्मा । पाठकआफूले पनि ‘त्यस्तै लेख्न सकेदेखि कति आनन्द हुँदो हो’ भनी लोभलाग्दो विधा बनाइदिने प्रेरणाका श्रोत हुन् डा. ताना शर्मा । यात्रा निबन्धलाई नियात्राको रूप र बान्कीमा लैजाने नियात्राका पिता हुन् डा. ताना शर्मा । अझ ज्यादा सपाट यात्रा निबन्धलाई नियात्राको आयाममा ढालिदिने कारिगड हुन् डा. ताना शर्मा।

सन्तान जन्माएपछि सन्तानको नाम जुराइदिन्छन् पण्डितबाले । डा. शर्माको सन्तानको नाम जुराइदिने पण्डितबा बने महान् साहित्यकार भाषाविद् बालकृष्ण पोखरेल। पण्डितबा पोखरेलले न्वारन गरी जुराइदिएको नाम पऱ्यो ‘नियात्रा’ ।

पण्डितबा एक समयका डा. ताना शर्माका झर्रोवादी बन्धु ।

पण्डितबाले नियात्रा नाम जुराइदिएको विधाको झर्रोबाबु डा. ताना शर्मा ।

समालोचक रामकृष्ण शर्माले महाकवि देवकोटाका कुनै कुनै कविता विदेशी कविहरूको प्रभावबाट लछेप्रै भिजेको देखे । समालोचना लेखे । महाकविलाई बत्तीस दन्त कड्किइने गरी झोक चलाए । समालोचक ताना शर्माले बालकृष्ण समको लेखाइलाई झुसिलो डकार नै भने । नाट्य शिरोमणिको बत्तीस दन्त कड्किए कि कड्किएनन् थाह लागेन । यी दुई शर्माले सम र देवकोटामाथि अर्घेल्याइँ गरे कि ठिकै गरे अहिलेसम्म खुट्याउने हामी कसैको ह्याउ भएन ।

रामकृष्ण शर्मा आफू हिँडेको बाटो पाइला पाइला चाल्दै अघि बढ्थे ।  ताना शर्मा आफू हिँडेको बाटो केही पर पुगेपछि फेरि फर्किएर पुरानै ठाउँमा आइपुग्थे । सिद्धान्त, टेक वा आफ्नो वैचारिक दृष्टिकोणमा अडिएरै बसे समालोचक रामकृष्ण शर्मा। सिद्धान्त वा टेक बनिन्छ नै भत्किनका लागि भने झैं आफैले लिएको टेकमाथि पनि रिभर्स गियर लगाइरहन्थे समालोचक ताना शर्मा ।

विचारमा अडिग रहन्छन् रामकृष्ण शर्मा ।

विचारमा अडिँदैनन् ताना शर्मा ।

भाषामा सौन्दर्य कप्न खप्पिस दुवै शर्मा । भाषामा माधुर्य भर्न माहिर शर्मा दुवै । यसमध्ये एउटा शर्माचाहिँ चुरो मारेर विचार पस्कन्छन् र तर्कले पाठकलाई ‘हो हो’ मा टाउको हल्लाउन लगाउँछन् । यसरी समर्थनमा टाउको हल्लाउन लगाउने शर्मा हुन् रामकृष्ण शर्मा । अर्को शर्माचाहिँ चुरो मऱ्यो कि मरेन- प्वाक्क विचार पस्कन्छन् र पाठकलाई टाउको हल्लाउने कि नहल्लाउने दोधारमा राख्नपुग्छन् । यसरी दोधारमा उभ्याउने शर्मा हुन् ताना शर्मा ।

रामकृष्ण शर्मा कविता लेख्न तस्मिएर मज्जाले चिप्लन्छन् ।

ताना शर्मा उपन्यास लेख्न तस्मिएर मज्जाले लड्न पुग्छन् ।

आफू पारङ्गत भएकै विधामा आफ्नो कलम चलाउनु उचित हो भन्ने उदाहरण बन्छन् दुवै शर्मा ।

विधाको लोभ गर्नुहुन्न भन्ने ज्ञान बाँडिरहन्छन् दुवै शर्माका असफलताहरू ।

***

डा ताना शर्मालाई मैले सबैभन्दा पहिले करफोकमा देख्नपाएँ । आजभन्दा दुई-चार वर्ष अघि साहित्यकार राधेश्याम लेकालीको संस्था अनेसासले करफोकमा एउटा कार्यक्रम आयोजन गरेको थियो । साहित्य शिखर इन्द्रबहादुर राईलाई केटौले उमेरमा पहिलो प्रधानाध्यापक बनाएर माम र सम्मान दुवै दिने ठाउँ करफोक । यसैले करफोकको त्यो विद्यालयको प्राङ्गन टेक्ने मौका गुमाउन चाहिनँ मैले ।

पुगेँ करफोक । ढोगेँ डाक्टर ताना शर्मा र उनको जन्मस्थल बरबोटेलाई ।

यसका साथै सिलगढीको गुरुङबस्तीमा काठमाडौँको साझा प्रकाशनको बिक्री भण्डार सञ्चालनमा ल्याउनलाई दिलोज्यानले खट्नुहुने त्यस समयका जि. एम. नेपाली साहित्य र सङ्गीत स्रष्टा गणेश रसिकलाई पनि करफोकमा भेट गर्ने लोभ संवरण गर्नसकिनँ । बिक्री भण्डार खोल्नमा सिलगढीको स्थानीय भएर पुऱ्याएको सहयोग आदरणीय स्रष्टा रसिकजीले सम्झनामा राख्नुभएको रहेछ । यसैले करफोकमा डा. ताना शर्मालाई सम्मान जनाएर फिक्कल हुँदै रसिक ग्रामतिर लाग्दा बरबोटे भन्ने ठाउँमा डा. तारानाथ शर्माको जन्म स्थान यही गाउँ हो भन्दै रसिक दाइले बताउनुहुँदा मैले गाडीबाटै प्रणाम गरेँ बरबोटेलाई । जन्म स्थान प्रसिद्ध बनाउनलाई एउटै व्यक्ति काफी हुन्छ- उदाहरण बरबोटे र तारानाथ शर्मा । बरबोटेबाट अझ उकालो लाग्यौँ र पुग्यौँ रसिक दाइको चियाबारीभित्र रहेको सुन्दर कटेज ।

बरबोटेबाट केही घुम्ती कटे’सि रसिक ग्राम ।

त्यस्तै डा. ताना शर्मासँग अर्को पटकको भेट नेपालको राजधानी काठमाडौँमा भयो । २-३ वर्ष अघि हिमवत्खण्ड कला साहित्य समागमको तीनदिने कार्यक्रमको निम्तो आयो काठमाडौँबाट । आयोजक समितिका साहित्यिक बन्धुद्वय डा. देवी नेपाल र कवि अनिल पौडेलको हार्दिकताको निम्तो थियो । कार्यक्रम जुलाई महिनामा भानुजयन्तीको छेक पारेर आयोजना गरिएको रहेछ । देश विदेशबाट धेरै नेपाली साहित्य र भाषासित सम्बन्धित स्रष्टाहरूका उपस्थिति रहेको थियो । लण्डनबाट माइकल हटलाई निम्त्याइएको रहेछ । जापानबाट नेपाली भाषा-साहित्यमाथि विद्यावारिधि गरेका हारुकी वा यस्तै के नामका जापानिज विद्वानलाई पनि निम्त्याइएको रहेछ । भारतको संविधानको आठौँ अनुसूचीमा लामो सङ्घर्षपछि नेपाली भाषालाई मान्यता दिलाउन भारतको संसदमा लड्ने-भिड्ने आदरणीय सिक्किमकी तत्कालीन सांसद दिलकुमारी भण्डारी पनि निम्तो मान्न पुग्नुभएको थियो । भारतबाट सहभागी बन्न गएका हामीलाई अर्को एउटा छुट्टै संस्थाले आयोजना गरेको कार्यक्रममा बिहानै प्रज्ञा भवन अघिल्तिर भेला भइदिने अनुरोध होटेलमा नै आयो । त्यसैले भोलिपल्ट बिहानै हामी प्रज्ञा भवन पुग्यौँ । कार्यक्रम रहेछ डा. ताना शर्मा र कलकत्ताका सत्यप्रसाद तिवारीलाई रथारोहण गरिने कार्यक्रम । कलकत्ताका सत्यप्रसाद तिवारीलाई डा. ताना शर्मासँगै रथारोहण गर्नपर्ने पवित्र विचार रहेछ- तिवारीजीले भानुभक्तको रामायणलाई हिन्दीमा अनुवाद गरेका रहेछन् । रथारोहण कार्यक्रम सिद्धिएपछि हामीले प्रज्ञा भवनलाई ब्याकग्राउण्ड बनाएर प्रज्ञा प्रतिष्ठानको लनमा डा. ताना शर्मासित धेरै फोटा लियौँ । डा. शर्मासित फोटो खिचाउनुहुनेहरूमा युग्मककार कालुसिँह रनपहेंली, कथाकार खडकराज गिरी, भागोप अध्यक्ष सुखमन मोक्तान, कवि इन्द्रबहादुर गुरुङ । डाक्टर तारानाथ शर्माको पछिल्तिर उभिएर मैले पनि मौकाको फाइदा उठाएँ ।

डा. ताना शर्माको प्रकाशित पुस्तकहरू धेरैजसो पढेको थिएँ मैले । त्यसरी नै पढेका थिए मेरा साहित्यिक मित्रहरूले ।

नियात्राकार डा.ताना शर्मामा निहित प्राज्ञत्वको सम्मान गर्दै उनको देहान्तको खबर पाएर शब्द समय सालबारीले डा. शर्माको फोटोमा पुष्पार्पण गर्दै शोक सभाको आयोजना गऱ्यो । जसरी केही वर्ष अघि नियात्राको नामाकरण गर्ने पण्डितबा महान् साहित्यिक, भाषाविद् बालकृष्ण पोखरेलको शोक सभा गरेको थियो शब्द समय सालबारीले ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here