युगका केही युग्मक
- कालूसिंह रनपहेंली
पतन
तीन अक्षरको पतन हेरेँ
दुई अक्षर त तन नै रहेछ ।
फूल
फूलमा दाँत छैन
उसलाई टोक्नु कसैलाई छैन ।
डरहरू
फूललाई हुरीको डर
फललाई छुरीको डर ।
उभिनु
चाहन्छन् सबै उभिनु पाऊँ
उभिनुका लागि तर चाहिन्छ ठाउँ ।
एउटै घरमा बाँधिएकाहरू
कुकुर सिक्रीमा
मालिक फिक्रीमा ।
लालच
जोड्दैछु यता धनको कान्ति
तोड्दैछु उता मनको शान्ति ।
संहारक
प्रेमले नृत्य गर्थ्यो वृक्ष चरो !
कसले हान्यो निर्मम बञ्चरो ?
मृत्यु
चुहादानीमा मुसा परेन
तर त्यो कहाँ मरेन ?
अनिवार्य
फर्के
पाहुनाहरू ।
रहस्य
हरेक फूल झर्नेछ, हरेक शरीर मर्नेछ
बाँच्नेछ त उही नै, जो केही गर्नेछ ।