च्याँगा-कटहरे क्षेत्रमा हात्तीको आतङ्क, गाउँलेहरू भयभीत

0
1553
च्याँगा-कटहरे बस्तीमा आतङ्क मच्चाउने हात्ती।

सिलगढ़ी, २ नोभेम्बर: मिरिक खण्डअन्तर्गत पर्ने तराईका च्याँगा, कटहरेलगायत संलग्न गाउँहरूमा अहिलेघरी जङ्गली हात्तीको आतङ्क अत्यधिक बढ़ेको छ। यी क्षेत्रहरूमा हात्तीको आतङ्क दिनप्रतिदिन बढ़ेपछि गाउँलेहरू आ-आफ्नो घरबाट निर्धक्क रूपले बाहिर निस्कन छाड़ेका छन्।

शनिवार बिहान करिब १० बजे पानीघट्टा ग्राम पञ्चायत कार्यालयनजिकै जङ्गली हात्ती घुमिरहेको देखेपछि अझ गाउँलेहरू झन् आतङ्कित बनेका छन्। स्थानीय मानिसहरूका अनुसार आज देखा परेको हात्ती केही दिनअघि क्षेत्रमा घुमिरहेको छ।

बिहीवार पनि उक्त हात्तीसँग एउटा टाटा सुमो जम्काभेट भएको थियो। यद्यपि टाटा सुमोका ड्राइभरको चलाखी र कुशलताले अत्यधिक गतिमा वाहन गुड़ाएपछि सबै यात्रु सुरक्षित रहन सफल भएका थिए।

यसैबीच, जङ्गली हात्तीको आक्रमणमा परी क्षेत्रका धेरै मानिसले अनाहकमा आफ्नो ज्यान गुमाइसकेका छन्।

उल्लेखनीय छ, पछिल्लो २४ अक्टोबरको बिहानै हात्तीको आक्रमणमा परी च्याँगानिवासी शान्तिमाया गहतराजको मृत्यु भएको थियो। त्यससमय उनी आफ्ना पति मणिकुमार गहतराजसँग मर्निङ वकबाट घर फर्किरहेकी थिइन्।

उक्त हात्तीकै आक्रमणले मणिकुमार गहतराज पनि गम्भीर घाइते भएका थिए। यसपछि अझ क्षेत्रमा हात्तीको सन्त्रास धेरै बढ़ेको छ।

जुन हात्तीले शान्तिमाया गहतराजलाई बिहानै मारेको थियो, उक्त हात्ती नै क्षेत्रमा घुमिरहेको स्थानीय मानिसहरूको भनाइ छ। यो क्षेत्रमा हात्तीको मात्र होइन चितुवाको भय पनि उस्तै रहेको गाउँलेहरू बताउँछन्।

स्थानीयनिवासी एवं च्याँगा नारी सेवा समितिकी अध्यक्ष दिवाकरी छेत्रीले भनिन्, “आज बिहानै हात्ती देखेपछि बाटैबाट घर फर्किनुपर्‍यो। अहिले हामी गाउँवासी हात्तीको आतङ्कमा बाँच्न बाध्य बनिरहेका छौं। वन विभागले हात्तीलगायत अन्य जङ्गली जनावरहरूको आतङ्कलाई निर्मूल पार्न ठोस पहल गर्नुपर्छ।”

यस्तै च्याँगानिवासी एक विद्यार्थी कल्पना शर्माले पनि हात्ती र चितुवाको आक्रमणको डरले कलेज जान-आउनमा बिघ्नै कठिनाइँ भोगिरहेको बताइन्।

“हामी विद्यार्थीहरूलाई कलेज-स्कूल जाँदा-आउँदा हात्ती र चितुवाको डरले अत्यधिक सताउने गर्छ। जहिल्यै हामी मनमा डर बोकेर आउ-जाउ गर्नुपर्छ। धेरैपटक हामीले नजिकमा हात्ती र चितुवा भेटिसकेका छौं”, उनले भनिन्।

अहिलेघरी च्याँगा-कटहरे क्षेत्रमा धान पाकेको कारण पनि हात्तीको आतङ्क बढ़ेको स्थानीय मानिसहरू बताउँछन्।  पछिल्ला केही महिनायता नक्सलबारी र मिरिक खण्डअन्तर्गत तराई क्षेत्रमा हात्तीको आक्रमणमा परी धेरै नागरिकले आफ्नो ज्यान अनाहकमा गुमाइसकेका छन्।

स्मरणरहोस्, पछिल्लो २३ अक्टोबरको राति अटल चियाबारीनजिक एशियन हाइवे-२ -मा एक बाइक सवार युवकलाई हात्तीले कुल्चेर मारेको थियो। त्यसैगरी केही दिनअघि नक्सलबारी खण्डअन्तर्गत निरपानीमा पनि केशर माया विश्वकर्मलाई हात्तीले मारेको थियो।

केही दिनयता मात्र उत्तर बङ्गालमा हात्तीको आक्रमणमा परी सातजना नागरिकले आफ्नो ज्यान गुमाइसकेका छन्, जसमध्ये तीनजना नक्सलबारी र मिरिक खण्डका छन्। यी तीनैजनालाई हात्तीले पछिल्लो अक्टोबर महिनाभित्र मारेको हो।

अर्कोतिर, वन अधिकारी बादल देवनाथले विभागको तर्फबाट मृतकका परिवारलाई पर्याप्त क्षतिपूर्ति दिइने बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here