दार्जीलिङ, 2 नोभेम्बरः जीटीएमा कार्यरत् कर्मचारीहरूको सङ्गठन एकीकृत कर्मचारी सङ्गठन (एकसं)-ले विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाको साथ छोड़ेको छ।
विनय-अनितको साथ छोड़्दै सङ्गठनले अब आफू पूर्ण रूपले स्वतन्त्र बनेर स्थायीकरणका लागि सङ्घर्षलाई अघि बढ़ाउने पनि एकसंले घोषणा गरेको छ।
आज जीटीएका विभिन्न विभागमा कार्यरत् पहाड़भरिका कर्मचारीहरूले एक सभाको आयोजन गरी यस्तो निर्णय लिएको सङ्गगठनका महासचिव डीपी खवासले बताए।
उनले भने, “2017-मा 105 दिनको हड़ताल र आन्दोलनपछि भएको जीटीएको सत्ता परिवर्तनसँगै जीटीएमा कार्यरत कर्मचारीहरूको सङ्गठन जनमुक्ति कर्मचारी सङ्गठन (जकसं)-को नाम पनि परिवर्तन भएर एकीकृत कर्मचारी संगठन भएको थियो। यति मात्रै होइन, त्यस समय यो सङ्गठनले विनय तामाङपन्थी गोजमुमोको एक भ्रातृ सङ्गठन बनेको पनि घोषणा गरेको थियो। तर, यतिका समयसम्म पनि यी कर्मचारीहरूको मूल स्थायीकरणको मुद्दा सफल नभएपछि आजदेखि यो सङ्गठनले विनय तामाङपन्थी गोजमुमोको साथ छोड़ेको घोषणा गऱ्यो।
बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै उनले थपे, “जीटीएमा कार्यरत पे-व्याण्ड कर्मचारीहरूको एउटै माग स्थायीकरण हो। यो माग लिएर कर्मचारीहरूले विगत धेरै वर्षदेखि सङ्घर्ष गर्दै आइरहेका छन्। तरै पनि अझसम्म केही हुनसकेको छैन।’’
खवासका अनुसार यस विषय लिएर उनीहरूले जीटीए बीओएका अध्यक्ष अनित थापा र गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङसित पनि धेरैपल्ट कुरा राखेका थिए। दुवैले स्थायीकरणको मागमाथि उचित कार्य गर्ने वचन दिएका थिए, तर उनीहरूको वचन आजसम्म पनि पूरा नभएपछि र आगामी दिनमा कुनै आशा नरहेको कारण नै आजदेखि यो एकीकृत कर्मचारी सङ्गठनले आफ्ना हक र अधिकारका लागि स्वतन्त्र बनेर सङ्गघर्ष गर्ने निर्णय लिएको हो।