गान्तोक, 2 नोभेम्बरः मेनलाइन ट्याक्सीहरूमा यात्रुहरूको सङ्ख्या बढ़ाएर भाड़ा घटाउने परिवहन विभागको नयाँ अधिसूचनालाई सिक्किम प्रोग्रेसिभ युथ फोरम (एसपीवाईएफ)-ले स्वागत जनाएको छ।
विभागले ताजा अधिसूचना हिजो बेलुकी जारी गरेको थियो।
यद्यपि पूर्व निर्धारित घोषणाका अनुसार आज एसपीवाईएफ-का प्रतिनिधिहरूको परिवहन विभागका सचिव र डीजीएमसित यातायत भवनमा एउटा बैठक सम्पन्न भयो।
बैठकमा विभागद्वारा हिजो जारी गरिएको अधिसूचना साथै अन्य विषयमा चर्चा भएको थियो।
बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै सङ्गठनका सदस्य रूपेन कार्कीले नयाँ अधिसूचनालाई एसपीवाईएफले स्वागत जनाएको बताए।
यसका साथै आफूहरूले विभागलाई केही सुझाउ पनि दिएको उनले बताए।
सङ्गठनले ट्याक्सी सेन्डिकेटहरूमा नयाँ रेटचार्ट लगाउन साथै बाइक र स्कुटीमा पछाड़िपटि पनि बस्न दिइनुपर्ने माग राखेको छ।
उल्लेखनीय छ, ट्याक्सी भाड़ा वृद्धिलाई लिएर एसपीवाईएफले आधा सङ्ख्यामा यात्री बोक्ने नियम फिर्ता लिने सरकारसमक्ष माग गरेको थियो। सङ्गठनको उक्त मागमा विभागले भाड़ा केही कम गरेको थियो। तर, त्यसबाट सन्तुष्ट नभएको एसपीवाईएफले आफ्नो मागलाई चर्को बनाउँदै आन्दोलनकै स्वरूप दिएको थियो।