दार्जीलिङ, 1 दिसम्बरः बेग्ला-बेग्लै तीनवटा मुद्दालाई लिएर आइतवार युनाइटेड गोर्खा कम्युनिटी फोरमले शहरमा एक ऱ्याली निकालेर सरकारको ध्यानाकर्षण गर्ने प्रचेष्टा गऱ्यो। ऱ्यालीमा विभिन्न समुदायका मानिसहरूले बाक्लो सङ्ख्यामा सहभागिता जनाएका थिए। उक्त ऱ्याली स्थानीय रेलवे स्टेशनबाट चौरस्तासम्म निकालिइएको थियो।
आयोजक समिति युनाइटेड गोर्खा कम्युनिटी फोरमका सचिन खवासले जानकारी गराएअनुसार गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिइनुपर्ने, सगरमाथाका पहिलो आरोही तेञ्जिङ शेर्पालाई ‘भारत रत्न’ दिइनुपर्ने तथा दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानमा अनुसूचित जातिका लागि आरक्षण सुनिश्चित गरिनुपर्ने मागमा सरकारलाई बलियो सन्देश दिनका लागि ऱ्याली आयोजन गरिएको थियो।
खवासले यसअवसरमा अङ्ग्रेस शासनमा दार्जीलिङ पहाड़का मानिसहरू ‘हिल ट्राइब’ भनेर चिनिने गरेको प्रसङ्ग पनि उठाएका छन्।
गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिइनुपर्ने मागमा सिक्किम र पश्चिम बङ्गाल सरकारले पनि सिफारिश गरी पठाइसके तापनि केन्द्र सरकारले आजको दिनसम्म यो मागलाई पूरा नगरेको पनि बताए।
साथै केन्द्र सरकारले यसबारे चाँड़ोभन्दा चाँड़ो पहल गर्नुपर्ने माग गरे। “केन्द्र जनजाति प्रदान गर्नबारे अध्ययनका लागि कमिटीहरू त गठन गऱ्यो, तर ती सबै कमिटी अहिलेसम्म हाम्रो आँखामा धुलो हाल्न कामजस्तो मात्र भएको छ”, खवासले भने।
उल्लेखनीय छ, गोर्खा समुदायका 11 जातगोष्ठी क्रमैले थामी, खस, नेवार, जोगी, देवान गुरुङ, राई, देवान, मगर, भुजेल र धिमाललाई केन्द्रिय जनजातिको मान्यता दिइनुपर्ने माग लगातार उठिरहेको छ।
यसैका लागि केन्द्र सरकारले शुरुमा अशोक पाई कमिटी, त्यसपछि भिशु मैनी कमिटी र पछिल्लो वर्ष मात्र मीरा रञ्जन छिरिङ कमिटी गठन गरिसकेको छ। यद्यपि एकै विषयमा यी तीनवटा कमिटी गठन भइसक्दा पनि जनजातिको माग पूरा हुनसककेको छैन।
यसैबीच, पछिल्लो लोकसभा चुनाउमा भाजपाले आफ्नो सङ्कल्प-पत्रमा दार्जीलिङको स्थायी राजनीतिक समाधानसँगै 11 जातगोष्ठीलाई केन्द्रिय जनजातिको मान्यता दिने प्रतिबद्धता जताएको थियो। यद्यपि सरकार बनिएको 7-8 महिना बितिसक्दा पनि जनजातिको मान्यताबारे सरकारले सुरसारसमेत नगरेको देखिएको छ।
अर्कोतिर, तेञ्जिङ शेर्पालाई ‘भारत रत्न’ दिइनुपर्ने मागबारे बोल्दै युनाइटेड शेर्पा एसोसिएशनका उपाध्यक्ष पीटी शेर्पाले भने, “2012 मै खेलाड़ीहरूलाई पनि भारत रत्न दिइने भएपछि तत्कालीन खेल मन्त्रीले तेञ्जिङ नोर्गे शेर्पा र ध्यान चन्दको नाम सिफारिश गरेका थिए। तर सचिन तेन्दुलकरलाई भारत रत्न दिइयो।”
उनले थपे, “तेञ्जिङ नोर्गे शेर्पासँगै सगरमाथा आरोहण एड्मण्ड हेलरीलाई उनको राष्ट्रले नेशनल हिरो बनाएको छ भने किन हाम्रो देशले तेञ्जिङ शेर्पालाई आँखी ओझेल गरिरहेको छ?”
यसका साथै युनाइटेड गोर्खा कम्युनिटी फोरमले आगत दिनमा यी मागहरूको सम्बन्धमा थप प्रभावकारी कार्यक्रमहरू गर्ने बताएको छ।