दार्जीलिङ, २ दिसम्बरः दार्जीलिङ हिमालयन रेलवे (डीएचआर)-ले दुई दशक पूरा गरेको अवसरमा आउँदो ५ दिसम्बरको दिन विविध कार्यक्रम आयोजन गर्ने निधो गरेको छ। यससम्बन्धमा दार्जीलिङका रेलवे स्टेशन म्यानेजर सुमन प्रधानले जानकारी गराएअनुसार त्यसदिन फन रन र सांस्कृति कार्यक्रमअन्तर्गत् अन्य विविध कार्यक्रम आयोजन गरिनेछ।
उल्लेखनीय छ, सन् १९९९-मा आजकै दिन दार्जीलिङ सानो रेलले विश्व धरोहरको मान्यता प्राप्त गरेको थियो।
प्रधानका अनुसार कार्यक्रममा शुरुमा सांस्कृति झाँकी र नृत्यसहित विशेष रेल स्थानीय रेलवे स्टेशनदेखि घूमसम्म पुगेपछि पुनः अघिकै स्थानमा फर्किनेछ। जुन रेलमा कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिहरू पनि सवार पनि रहनेछन्।
त्यसैगरी ११ बजेदेखि स्थानीय विद्यालयका विद्यार्थीवर्ग र आम मानिसहरूलाई समेटेर घूम रेलवे स्टेशनदेखि दार्जीलिङ स्टेशनसम्म फन रनको आयोजन गरिनेछ। उक्त फन रनमा स्थानीय मानिसहरूलाई सहभागिता जनाइदिने उनले अपीलसमेत गरेका छन्। उनले थप जानकारी अनुसार त्यसै दिन चौरस्तामा सांस्कृतिक कार्यक्रम र डीएचआरसम्बन्धित प्रदर्शनी आयोजन गरिनेछ।
यसका साथै त्यसै दिन अपराह्न १:५५ बजे चौरस्तामा रेलवेका उच्चाधिकारीहरूले पत्रकारहरूलाई सम्बोधन गर्नेछन्। प्रधानका अनुसार उक्त कार्यक्रममा दिल्ली रेलवे बोर्डका उच्चाधिकारी, महाप्रबन्ध मालिगाउँलगायत स्थानीय उच्चाधिकारीहरू विशेष रूपमा उपस्थिति रहनेछन्।