सांसद सुब्बाले भेट केन्द्रिय मन्त्री गडकरीलाई, उठाए राजमार्गको दुरवस्थाको मुद्दा

0
1241

गान्तोक, 2 दिसम्बर: लोकसभा सांसद इन्द्रहाङ सुब्बाले मङ्गलवार सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीसँग भेट गरी राष्ट्रिय राजमार्ग 10 को दुरवस्थाबारे अवगत गराएका छन्।

यसका साथै उनले अत्यन्त खराब अवस्थामा रहेको राष्ट्रिय राजमार्गको कायाकल्प र यसको समुचित रखरखाउका लागि हस्तक्षेप गरिनुपर्ने माग गरे। सांसदले केन्द्रिय मन्त्रीसँगको भेटवार्ताअवधि विशेषगरी सेवकदेखि रम्फूसम्म राजमार्गको अवस्था अत्यन्त दयनीय रहेको तथा यसलाई पश्चिम बङ्गाल सरकारले मरम्मती गर्नेगरेको जानकारी गराए।

यसअवसरमा उनले टिस्टा नदीमा निर्माण गरिएको बाँधको कारण माटोको क्षयले राजमार्गका ठाउँ ठाउँमा पैह्रो झरिरहने हुनाले घरी घरी राजमार्ग बन्द भइरहने र यसबाट यात्रुहरूले अत्यधिक समस्या भोग्नेगरेको पनि जानकारी गराए।

यसका साथै उनले बाग्राकोट हुँदै कालेबुङ भएर गान्तोक आइपुग्ने निर्माणाधीन वैकल्पिक मार्गको निर्माणकार्य पनि चाँड़ोभन्दा चाँड़ो पूरा गरिनुपर्ने आवश्यकतामाथि प्रकाश पार्दै यसको निर्माणकार्य जतिसक्दो चाँड़ो पूरा गर्नका लागि निर्माणकार्यमा तीव्रता ल्याउनुपर्ने माग गरे।

अर्कोतिर, सड़क परिवहन एवं राजमार्ग मन्त्री गडकरीले बाग्राकोटदेखि गान्तोकसम्मको वैकल्पिक मार्गको निर्माणकार्य जतिसक्दो चाँड़ो पूरा गर्ने आश्वासन सांसद सुब्बालाई दिएका छन्।

यसैबीच, जनसंवादसँग टेलिफोनिक कुराकानीअवधि सांसद इन्द्रहाङ सुब्बाले जानकारी गराएअनुसार केन्द्रिय मन्त्रीले राष्ट्रिय राजमार्ग 10-को अवस्था सुधार र रखरखाउका लागि तत्काल पहल गर्ने आफ्नो आफ्नो मन्त्रालयलाई निर्देश दिएका दिएका छन्। उल्लेखनीय छ, सांसद सुब्बाले संसदको बजेट सत्रअवधि पनि सदनमा राष्ट्रिय राजमार्ग 10 को मुद्दा उठाउँदै यसको सटीक निर्माण र रखरखाउलाई सुनिश्चित गरिनुपर्ने तथा वर्तमानमा निर्माणाधीन वैकल्पिक मार्गमा निर्माण चाँड़ोभन्दा चाँड़ो पूरा गरिनुपर्ने माग गरेका थिए।

स्मरणरहोस्, सिक्किम र कालेबुङका लागि जीवनरेखा मानिने राष्ट्रिय राजमार्गको अवस्था अत्यन्त दयनीय बनेको छ। बर्खाको समयमा प्रतिवर्ष दिनैपछि  साना-ठूला पैह्रोहरू झरिरहने हुनाले लामो समयसम्म राजमार्गमा यातायात बाधित हुनेगरेको छ, जसको कारण आवश्यकीय कार्यका लागि गान्तोक-सिलगढ़ी आउजाउ गर्ने  यात्रुहरूले प्रतिदिन ठूलो समस्या र जोखिम उठाउँदै आइरहेका छन्।

राजमार्गकै दुरवस्थाको कारण दुर्घटनाका घटनाहरूमा पनि वृद्धि भइरहेको छ। यसका साथै लामो समयसम्म पैह्रो कारण यातायात ठप्प रहने हुनाले राज्यले आर्थिक  बोझ पनि सहँदै आइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here