सिलगढ़ी, 2 दिसम्बरः जलपाइगढ़ी जिल्लाको मैनागढ़ीमा चितुवाको हमलामा परी 10 जना घाइते बनेका छन्। घाइते हुनेहरूमा बेलाकोबा फरेस्टका रेञ्जर तथा नर्थ बेङ्गाल टास्क फोर्स प्रमुख सञ्जय दत्तालगायत अन्य वनकर्मी र पाँच गाउँले सामेल छन्।
यो घटना आइतवार अपराह्न भएको बताइएको छ। चितुवाले उत्पात मच्चाएको सुनेपछि बोलाकोबा फरेस्टका रेञ्जर सञ्जय दत्ताको अगुवाईमा वनकर्मीहरूको एक टोली हिजो अपराह्न रङ्गधामली क्षेत्रमा पुगेका थिए।
जानकारीका अनुसार स्थानीय मानिसहरूले आलुबारीमा काम गरिरहेको समय चितुवाले अचानक आक्रमण गरेको थियो, जुन हमलामा पाँच किसान घाइते भएका थिए।
यो घटनाबारे सूचना पाएपछि वनकर्मीहरू चितुवालाई समात्नका लागि त्यहाँ पुगेका थिए। जब वनकर्मीहरू गाड़ीमा गइरहेका थिए, हिंस्रक चितुवाले अचानक उनीमाथि हमला गर्यो। त्यसपछि वनकर्मीहरूले उक्त चितुवालाई पक्रनका लागि खुट्टा बाँध्ने कोशिश गरिरहेको बेला चितुवाले उनीहरूमाथि थप हमला गरेको बताइएको छ।
लगातार हमला गरे तापनि साहसी वनकर्मीहरूले अन्तमा उक्त चितुवालाई पक्रन सफल भए। घाइतेहरूलाई उपचारका लागि जलपाइगढ़ी सदर अस्पतालमा लगिएको छ। वन अधिकारी दत्ताका अनुसार पक्राउ गरिएको उक्त चितुवालाई जिङ्गल वनमा छोड़िएको छ।