खरसाङ, 2 दिसम्बरः अब जीटीएका प्रत्येक कार्यक्रम नेपाली भाषामा हुने जीटीए बीओएका अध्यक्ष थापाले बताएका छन्।
यसबारे एक अधिसूचना निकाल्ने पनि उनको भनाइ छ।
मरम्मती र सुन्दरीकरण गरिएको खरसाङ पार्क लोकेशनस्थित गोर्खा कम्युनिटी हलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।
“हामी हाम्रो भाषालाई लिएर भावनात्मक बन्छौँ। तर, व्यावहारिक रूपमा हामीले हाम्रो भाषालाई हाम्रै आफ्नो कार्यक्रममा विरलै प्रयोग गर्छौं। अब जीटीएका प्रत्येक कार्यक्रम नेपाली भाषामा लेखिएको हुनेछ। म भोलि नै यसको एउटा नोटिफिकेशन निकाल्नेछु”, अनितले भने।
64 लाख 86 हजार 2 सय 26 रुपियाँको लागतमा गोर्खा कम्युनिटी हलको मरम्मती र सुन्दरीकरणका कार्य गरिएको बताइएको छ। आज खरसाङ नगरपालिकाका अध्यक्ष कृष्ण लिम्बूले यसको उद्घाटन गरे।
कार्यक्रममा जीटीए बीओएका अध्यक्ष अनित थापालाई नागरिक अभिनन्दन पनि जनाइएको थियो।
यसअवसरमा थापाले खरसाङ नगरपालिकाले धेरै राम्रो कार्य गरेको बताउँदै खरसाङलाई स्वच्छ खरसाङ बनाउन मानिसहरूसँग अपील गरे।