भाजपामाथि भागोप्रमोको कटाक्ष-बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरूलाई पनि बनाउन दिँदैन

0
793

दार्जिलिङ,२ दिसम्बर: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले भाजपालाई बाँदरको संज्ञा दिएको छ।

बाँदरले झैँ भाजपाले आफ्नो घर पनि नबनाउने, अरूलाई घर पनि बनाउन नदिने कार्य गरिरहेको आरोप लगाएको छ।

यति मात्र होइन, जब दार्जिलिङ पहाड़ शान्त हुन्छ अनि  पहाड़वासीले फेरि केही राहत र विकासतिर अग्रसर गर्ने मौका पाउँछन्, तब भाजपाले पहाड़को शान्ति श्रृङ्खला भङ्ग गर्न राजु विष्टजस्ता एजेन्टहरू पहाड़मा सक्रिय गर्ने गरेको पार्टी प्रवक्ता केशवराज पोख्रेलले आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘दार्जिलिङ पहाड़मा सांसद राजु विष्टले सांसद भएको नाताले पहाड़वासीको हितमा होइन, तर भाजपाको एजेन्ट भएर काम गरिरहेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पनि जीटीए नै हुनुपर्छ भन्ने पक्षमा छैन। तर लथालिङ्ग भएको दार्जिलिङ पहाड़लाई व्यवस्थित बनाउनका लागि कुनै न कुनै व्यवस्था क्षमतामा हुनैपर्छ भन्ने पार्टीको भनाइ हो। यदि राजु विष्टहरूले जीटीए खारेज गर्न चाहन्छन् भने यसभन्दा पहिला उनीहरूले कसम खाएको गोर्खाल्याण्ड राज्य गठन गरून्, त्यसपछि जीटीए खारेज गरून्। यदि गोर्खाल्याण्ड ल्याउन सक्दैन भने भइरहेको व्यवस्थालाई क्षमतामा ल्याउन उनीहरूले विरोध पनि नगरून्।’

यदि सांसद राजु विष्टलाई दार्जिलिङ पहाड़को साँच्चै चिन्ता छ भने संविधानको आर्टिकल 243 (एम)-लाई संशोधन गरेर दार्जिलिङ पहाड़मा त्रिस्तरीय चुनाउ गराउने बाटो खुल्ला गर्नुपर्ने पोख्रेलको भनाइ छ।

उनका अनुसार पञ्चायत चुनाउ नभएका कारण पञ्चायत क्षेत्रका मानिसहरूले भोगिरहेका समस्याहरूका निराकरण गर्ने दिशातिर सांसद राजु विष्टले कार्य गरून्।

भाजपाको एजेन्ट भएर होइन, तर पहाड़वासीको साँचो सांसद भएर काम गरेको उचित हुने पनि पोख्रेलले कटाक्ष प्रहार गरेका छन्।

‘भाजपाले २०१७-मा विमल गुरुङलाई उक्साएर हिंसात्मक गोर्खाल्यान्ड आन्दोलन गर्न लगायो। त्यसैको फलस्वरूप दार्जिलिङ पहाड़ लथालिङ्ग भएको हो। पहाड़वासीले दुःख पाउनसम्म पाए। दार्जिलिङ नगरपालिकालाई भताभुङ्ग बनाउने पनि भाजपा नै हो। भाजपाको राजनीतिक हस्तक्षेपको कारण दार्जिलिङ नगरपालिकाको बोर्ड भङ्ग भयो र दार्जिलिङ नगरपालिका क्षेत्रका मानिसहरूले अहिले हुनसम्मको दुःख पाइरहेका छन्’ केशवराज पोख्रेलले भनेका छन्, ‘आफ्नो जन- प्रतिनिधि नभएको कारण दार्जिलिङ नगरपालिका क्षेत्रको नाला-झोड़ा, मैला कुचैला उठाउनेसमेत कोही छैन। दार्जिलिङ नगरपालिका भङ्ग गर्ने भाजपाको षड़यन्त्रले गर्दा दार्जिलिङ नगरपालिका क्षेत्रवासीले यसरी दुःख भोगिरहेका छन् भने जीटीए भङ्ग गरेर समग्र दार्जिलिङ पहाड़लाई नै लथालिङ्ग बनाउने भाजपाको षड़यन्त्र हो। यो षड़यन्त्रलाई सफल बनाउन सांसद राजु विष्टले भाजपाको एजेन्ट भएर काम गरिरहेका छन्।’ उनले थप भनेका छन्, ‘जीटीए खारेज गर्नुछ भने पहिला गोर्खाल्यान्ड राज्य गठन गरेर देखाओस्, अन्यथा भइरहेको व्यवस्थालाई पनि भङ्ग गरेर दार्जिलिङ पहाड़लाई भताभुङ्ग बनाउने षड़यन्त्र भाजपाले नगरोस्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here