रोशन गिरीहरू राजनीतिक रूपले अपरिपक्व : अमिर बस्नेत

0
1602
अमिर बस्नेत (फाइल फोटो)।

कालेबुङ, 2 फरवरी :  विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का नेताहरू राजनीतिक रूपले अपरिपक्व रहेको दाबी विनय तामाङपन्थी गोर्खा जनमुक्ति युवा मोर्चा (गोजयुमो)  कालेबुङ जिल्ला कमिटीका महासचिव अमिर बस्नेतले गरेका छन्।

राज्य सरकारसँग वार्ता बस्ने रोशन गिरीको अपीलमाथि बस्नेतले प्रतिक्रिया व्यक्त गर्दै यस्तो दाबी गरेका हुन्। यसका साथै उनले गिरीहरूमाथि तीखो शब्दमा कटाक्ष गरेका छन्।

विनय तामाङ र अनित थापाले एकवर्षअघि बुझेको कुरालाई रोशन गिरीहरूले एक वर्षपछि अहिले बुझ्नुमा उनीहरूमा रहेको राजनीतिक अपरिपक्वता प्रमाणित हुने बस्नेतको भनाइ छ।

“केन्द्र सरकारले राज्य सरकारसँग मिलेर काम गर्नु भनेर निर्देश दिँदा राज्य सरकारसँग वार्ता गर्नुपर्ने उनीहरूको दायित्व थियो, तर त्यसबेला उनीहरू मान्दै मानेनन्’’, बस्नेतले थपे, “आज राज्यसँग जुन राम्रो सम्बन्ध स्थापित भएको छ। त्यसकै प्रतिफलस्वरूप मुख्यमन्त्री ममता ब्यानर्जी दार्जीलिङ आएर गोर्खाहरूको परिचय सङ्कटको समस्यालाई समाधान गर्न कार्य गर्ने बताएकी हुन्।’’

राज्य सरकारसँग राम्रो सम्बन्ध स्थापित गर्दा राम्रो परिणाम निस्कन्छ भन्ने कुरा अहिले आएर रोशन गिरीहरूले बुझिरहेको पनि उनले बताए। यसका साथै उनले रोशन गिरीहरूको राज्य सरकारसँग वार्ता बस्ने पहललाई मौकावादी पहलको संज्ञा पनि दिए।

बस्नेतले भने, “सबै कुरा राम्रो भइसकेपछि अब उनीहरूलाई आफ्नो अस्तित्व बचाउन साह्रो पऱ्यो। जुन बाटो भएर विनय तामाङ र अनित थापा हिँड़ेका थिए, अहिले त्यही बाटो छिरेर रोशन गिरीहरूले आफ्नो अस्तित्व बचाउने प्रयास गरिरहेका छन्। हामी स्पष्ट बुझ्नसक्छौं।’’

उनले रोशन गिरी र विमल गुरुङहरू पाँच वर्ष जीटीएको सत्तामा बस्दा राज्य सरकारसँग किन राम्रो सम्बन्ध स्थापित गरी बङ्गालका मुख्यमन्त्री र मन्त्रीहरूको मुखबाट गोर्खाहरूको परिचय सङ्कटको समस्यालाई स्थायी समाधान गर्न कार्य गर्ने वचन निकाल्न सकेनन् भन्ने प्रश्न पनि गरेका छन्।

“यस्तो गर्न नसक्नु रोशन-विमलहरूको राजनीतिक विफलता हो। यो कुरा प्रमाणित भएको छ”, उनले थपे, “विनय तामाङ र अनित थापाले गरेका कुराहरू सराहनीय रहेछ, राम्रो रहेछन् भन्ने कुरा आज उनीहरू आफैले प्रमाण गरेर देखाएका छन्।”

गोजयुमो कालेबुङ जिल्ला कमिटीका महासचिव अमिर बस्नेतले रोशन गिरी र विमल गुरुङजस्ता झूट बोल्ने नेतृत्वहरूलाई पछ्याउनदेखि सतर्क हुनुपर्ने जनतालाई आह्वान गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here