कोलकाता, ३ फरवरी : केन्द्रबाट भाजपा र राज्यबाट तृणमूल कङ्ग्रेसलाई हटाउनुपर्ने आह्वान मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा)-ले गरेको छ। माकपा नेताहरूले आइतवार ब्रिगेड सभालाई सम्बोधन गर्दै यस्तो आह्वान जनतालाई गरेका हुन्।
उनीहरूले केन्द्रबाट भाजपालाई हटाएर देश र राज्यबाट तृणमूल कङ्ग्रेसलाई हटाएर बङ्गाल बचाउनुपर्ने बताए। यी दुवै पार्टीले लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको आरोप लगाउँदै माकपा नेताहरूले यी दुई पार्टीलाई सत्ताबाट फ्याँके मात्र लोकतान्त्रिक मूल्य मान्यता बच्ने दाबी गरे।
माकपा नेता सीताराम येचुरीले ब्रिगेड सभालाई सम्बोधन गर्दै भने, “देशबाट भाजपा र बङ्गालबाट तृणमूल कङ्ग्रेसलाई हटाउन पर्नेछ। केन्द्र मोदीलाई हटाएर देश बचाउनु छ। राज्यबाट तृणमूल कङ्ग्रेस हटाएर बङ्गाल बचाउनुपर्छ। हामीले राम्रो भारत, राम्रो बङ्गाल बनाउनु छ।
उनले आफ्नो सम्बोधनमा भाजपा र तृणमूल सरकारको तीखो शब्दमा निन्दा गर्दै दुवै सरकारले जनतालाई बिचल्ली बनाएको बताए। येचुरीले देशमा वैकल्पिक सरकार बनाउनुपर्ने जनतालाई आह्वान गरे।
यसभन्दा अघि भारतीय कम्युनिस्ट पार्टी (भाकपा) –का महासचिव एस. सुधाकर रेड्डीले ब्रिगेड सभालाई सम्बोधन गर्दै मोदी सरकारको सक्दो आलोचना गरेका थिए। उनले पछिल्लो पाँच वर्षमा भाजपाले देशमा धेरै हानि पुऱ्याएको आरोप पनि लगाए।
यसका साथै रेड्डीले बजेटमार्फत भाजपाले देशका जनतालाई मूर्ख बनाएको पनि दाबी गरे।
सभालाई आरएसपीका राज्य सचिव क्षिति गोस्वामीले पनि सम्बोधन गर्दै केन्द्रमा सत्तासीन भाजपाको कार्यशैलीलाई लिएर तीखो शब्दमा निन्दा गरे।
उल्लेखनीय छ, यो बिग्रेड सभामा युवा नेता कन्हैया कुमार उपस्थित भएनन्। पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्य ब्रिगेड सभामा उपस्थित भए तापनि तर अस्वस्थको कारण न त मञ्चमा चढ़े न त भाषण नै दिए। कार्यकर्ताहरूको उत्साह बढ़ाउन अस्वस्थै भएर पनि उनी ब्रिगेडसम्म पुगेका थिए। प्रायः आधा घण्टा आफ्नै गाड़ीमा बसेपछि उनी घर फर्के।