सिलगढ़ी, 3 फरवरीः डाइरेक्टोरेट अव् रेभेन्यु इन्टिलिजेन्स (डीआरआई)-का अधिकारीहरूले एक किलो सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
केही वर्षयता सिलगढ़ी सुन तस्करीका लागि मुख्य बाटो भएका डीआरआईका अधिकारीहरूले यसमाथि गिद्दे दृष्टि राखेको छ।
यसैक्रममा आइतवार एक अभियान चलाएर डीआरआई अधिकारीहरूले स्थानीय एनजेपी स्टेशनबाट एक किलो सुनसहित मिथुन पोद्दार नामक व्यक्तिलाई पक्राउ गरेका छन्।
डीआरआई अधिकारीहरूका अनुसार गोप्य सूत्रमार्फत प्राप्त सूचनाको आधारमा हिजो एक अभियान चलाएर मिथुन पोद्दारलाई एक किलो सुनको बिस्कुटसहित अरुणाचल एक्सप्रेसबाट पक्राउ गरिएको हो।
केरकारअवधि म्यान्मारबाट असमको बाटो भएर उक्त सुन ल्याइएको र दिल्लीमा एक एजेन्टलाई दिनका लागि लगिरहेको आरोपी पोद्दारले स्वीकारेको ती अधिकारीहरूले बताएका छन्।
उल्लेखनीय छ, पछिल्लो 22 जनवरीका दिन पनि डाइरेक्टोरेट अव् रेभेन्यु इन्टिलिजेन्स (डीआरआई)-का अधिकारीहरूले एक अभियान चलाएर एनजेपी स्टेशनबाट 1 किलो 660 ग्राम सुनसहित गोविन्द तुकाराम चौहान नाम गरेका एक व्यक्तिलाई पक्राउ गरेका थिए।
त्यसदिन चौहानलाई डीआरआई अधिकारीहरूले सम्पर्कक्रान्ति एक्सप्रेसबाट पक्राउ गरेका थिए।