कालेबुङ, 3 फरवरीः गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले बौद्धिक आन्दोलनको सूत्रपात भएको घोषणा गरेका छन्।
आज कालेबुङमा आयोजित भारतमा गोर्खा जातिको संवैधानिक एवं राजनैतिक न्याय तथा राष्ट्रिय चिह्नारीमाथि विचार गोष्ठीमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन्।
विनयले बौद्धिक सूत्रपातहेतु पहिलो प्रयासमा भारतीय गोर्खालाई संवैधानिक, राजनैतिक न्याय एवम् राष्ट्रिय चिह्नारी दिलाउन अब नयाँ बाटो र गोरेटोमा हिँड़्नुपर्ने बताए।
अखिल भारतीय गोर्खा लीगका संस्थापक स्व. डम्बरसिंहगुरुङकै विचारहरूबाट आफूहरूले यो बौद्धिक आन्दोलन शुरू गर्ने पनि विनयले बताए।
“अहिले 9 जनाको सानो टोलीबाट यो आन्दोलन शुरू गरिएको छ। हाम्रा पछाड़ि गैरगोर्खा जानकार र विज्ञहरू पनि जुटेका छन्। उनीहरू पहाड़बाहिर छन्। दार्जीलिङ र खरसाङको विचारगोष्टीपछि हाम्रो गोष्ठी दिल्लीमा हुनेछ”, उनले थपे, “हामी भारतभरि 1.5 करोड़ छौँ भन्दैछौँ। तर, 2011-को जनगणनाले केवल 29 लाख गोर्खा मात्र देखाउँछ। अनि बङ्गालमा बेसी देखाउँछ, जबकि असममा गोर्खा बेसी बस्छन्। दार्जीलिङ पहाड़को जनसङ्ख्या 18 लाख देखाएको छ, जुन बङ्गालको 2 प्रतिशत हो।”
यसैगरी विनयले हामी किन जनसंख्यामा घटछौ मात्र? जनसंख्याको सेन्सस हुँदा हामीले आउँदो जनगणनामा सबैले मातृभाषा नेपाली लेख्नुपर्ने पनि बताए।
“हामीले हाम्रो मातृभाषा लेख्नुपर्छ। तर, हामी आजभोलि मातृभाषा तामाङ, राई नेवार आदि लेख्छौँ। भाषिक आधारमा हामीले नेपाली लेख्नुपर्छ”, उनले थपे, “असम, मोघालय, मणिपुरतिर गोर्खामाथिको अत्याचारको इतिहासका कारण गोर्खाले नेपाली भाषा मातृभाषा लेखेनन्। अब हामी निर्धक्क भएर आउँदो जनगणनामा हाम्रो मातृभाषा नेपाली लेखौँ।”
अर्कोतिर उनले आज पनि भारत-भूटान मैत्री तथा शान्ति सन्धि 1949 र भारत-नेपाल मैत्री तथा शान्ति 1950 –को संशोधन, अल इन्डिया गोर्खा एसेम्ब्लीको गठन तथा प्रस्तावित गोर्खाल्यान्ड क्षेत्रलाई उत्रपूर्वी काउन्सिलमा अन्तर्भुक्तिको माग पनि दोहोऱ्याए। साथै यीहरू आफ्नो पार्टीको अड़ान र माग रहेको पनि बताए।
“यो मुद्दा केवल विनय तामाङ र गोर्खा जनमुक्ति मोर्चाको मात्र मुद्दा होइन। तर, यी मुद्दाहरू सम्पूर्ण भारतीय गोर्खाको मुद्दा हो”, उनले थपे।
आजको विचारगोष्ठीमा सीके कुमाइले भारत-नेपाल मैत्री तथा शान्ति सन्धि 1950, गौतम कालिकोटेले भारत-भूटान मैत्री तथा शान्ति सन्धि 1949, सीडी बान्तवाले छुट्टै राज्य र चिह्नारीको सङ्घर्षको इतिहास तथा मिरेन लामाले सन्धिको इतिहाससम्बन्धमा आफ्नो विचार राखेका थिए।