गान्तोक, 2 अप्रेल : “एसकेएम नेताले पहिला एक-दुई वकील छेउमा राखेर चुनाउ उठ्न पाउँछ भने। चुनाउमा उठ्न नपाएपछि चुनाउ लड़ेनन्। अहिले मुख्यमन्त्री उम्मेदवार भन्दैछन्। चुनाउमा उठ्न नपाउने व्यक्ति कसरी मुख्यमन्त्री हुनसक्छ? जुन नेताको आफ्नै भविष्यको टुङ्गो छैन, जनताले त्यस्ता नेतालाई पछ्याउनु हुँदैन। मलाई एसकेएम नेताले ‘व्यापारी’ भनेछन्। म भाइसाहेब जस्तो तस्कर गर्ने व्यापारी होइन। जसले छेपारो, पुरानो मूर्ति, चन्दनको काठ तस्करी गर्छ उसले मलाई व्यापारी भन्दैछ। पाँचवटा कार्यकाल मुख्यमन्त्री गरेको अनुभवी र ‘सिजन्ड लिडर’-लाई व्यापारी भन्ने मान्छे कुन दुनियाँमा छ?”, एसडीएफ अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङले एसकेएम अध्यक्ष पीएस गोलेको नाम नतोकी भने।
हिजो गेजिङमा आयोजित एक जनसभामा गोलेले मुख्यमन्त्रीलाई ‘व्यापारी’-को संज्ञा दिएकोमा उनको पहिलो प्रतिक्रिया थियो। पूर्व जिल्लाका तीनवटा समष्टिका लागि रोड़ाथाङमा आयोजित ‘विजय सङ्कल्प यात्रा’-को पाँचौं दिन चामलिङ आफ्नो चुनावी सभा गरिरहेका थिए।
नाथाङ-माछोङ, रिनाक र छुजाचेन समष्टिका जनताको बाक्लो उपस्थितिबीच बोल्दै चामलिङ एसकेएम पार्टीमाथि निकै वर्षिए,“नेता र मुख्यमन्त्री उम्मेदवारसमेत नभएको पार्टीले जनतालाई खाड़लमा हाल्छ।” एसकेएमका कुङ्गा निमा लेप्चाले व्यापारीहरूलाई आयकरबाट छुट नदिनु भनेर एसडीएफ सरकारले केन्द्रमा लेखेर दिएको भनी गान्तोकतिर प्रचार गरिरहेको आरोप लगाउँदै चामलिङले भने,“कुङ्गा निमाले सीधैं जनतालाई ढाँट्दैछन्। हामीले त्यस्तो चिट्ठी लेखेको छ भने उनले देखाउन्-म चुनौती दिन्छु।”
एसडीएफ सरकारले सिक्किमेलाई आयकरबाट छुट दिलाएको कुरालाई पनि एसकेएमले विरोध गरिरहेको उनले आरोप लगाए। प्रमुख विपक्षी पार्टीलाई मुख्यमन्त्रीले ‘बाहिर एसकेएमभित्र बीजेपी’-को संज्ञा दिए।
“एसकेएम पार्टी तल बिक्री भइसकेको छ। एसकेएम र बीजेपीले अहिले ऊसँग काम गर्ने यताकालाई दैनिक 500 रुपियाँ अनि बाहिरकालाई 1000 रुपियाँ दिँदैछ। यो पैसा कहाँबाट आयो? सब पार्टी बेचेको पैसा हो। बीजेपीको उम्मेदवारले पनि गाउँ-गाउँमा भन्दैछ-मलाई भोट नदिने हो भने पनि एसकेएमलाई चाहिँ दिनु”, चामलिङले आरोप लगाए।
आगामी सरकारमा 11 जातगोष्ठीलाई जनजाति बनाउने र लिम्बू -तामाङलाई आसन दिलाउने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढ़ाउने चामलिङले घोषणा गरे।
यसपालि 32 वटै सीट जित्नु आफ्नो मिशन भएको बताउँदै उनले भने, “यसपालि एसडीएफलाई 32 वटै सीटमा जिताउनु मेरो मिशन हो। सेन्ट पर्सेन्ट जित्ने मिशनका लागि म आफै रातदिन खट्दैछु। एसडीएफलाई जिताएर जनताले आफ्ना आशा-आकांक्षा र भविष्यलाई जिताउनुपर्छ।”
एसडीएफले चुनाउको समयमा मात्र वाचा नगरेको अनि हरेक वचन पूरा गरेको उनले दाबी गरे। फार्माश्युटिकल र औद्योगिक कम्पनीहरू अधिक रहेका यी समष्टिहरूलाई केन्द्र गरी मुख्यमन्त्रीले ‘लेबर कन्ट्राक्ट’-को मुद्दा पनि उठाए।
“म लेबर कन्ट्राक्ट हटाउने पक्षमा थिए, तर विधायकहरूले हटाउन हुँदैन भने। म हरेक प्रकारको शोषण-दमनको विरोधमा छु। म सिद्धान्तको राजनीति गर्छु, तर समय-समयमा सरकार चलाउन सम्झौता पनि गर्न परेको छ। अहिले पनि म यो प्रथा हटाउने पक्षमै छु। जनताले जे भन्छन्, त्यही कुरा मानेर चल्छु”, चामलिङले भने।
पार्टीभित्र गुटवाद र अहंकार बढ़ेको कुरा खुलेर स्वीकार गर्दै चामलिङले भने,“हामीलाई अहिले प्रतिपक्षीहरूबाट डर छैन। तर, पार्टीभित्रकै गुटवाद र अहंकारले पार्टी कमजोर हुँदैछ। पार्टीले कुनै उम्मेदवारलाई टिकट दिएपछि सघाउनु पार्टीका हरेक नेता र कार्यकर्ताको अनुशासन हो। इमानदारीसँग काम गरे टिकट नपाएकाले पनि एकदिन पार्टीमा सम्मान र कदर पाउँछन्।”
उम्मेदवारहरूले रिसाएका, टिकटका आकांक्षी तथा रुष्ट भएका कार्यकर्ताहरूसँग बसेर हरेक समस्या सुलह गर्नुपर्ने एसडीएफ अध्यक्षले पार्टी कार्यकर्ता तथा नेताहरूलाई निर्देशन दिए।
आगामी सरकारमा राजनीतिक पार्टीहरूद्वारा चन्दा असुली तथा पसर्न्टेजमाथि प्रतिबन्ध लगाउन कड़ा कानून ल्याउने उनले बताए।
“चन्दा उठाउने र पसर्न्टेज माग्नेहरूविरुद्ध कड़ा कानून ल्याएर हामी भ्रष्टाचारनिरोधक कार्यमाथि विश्वलाई नै सन्देश दिन चाहन्छौं”, चामलिङले भने। सरकार आएपछि पहिलो क्याबिनेट बैठकमै पाकिमलाई जिल्ला बनाउने प्रस्ताव पारित गर्ने अनि 100 दिनभित्रमा जिल्लाको कार्यालय सञ्चालन गर्ने एसडीएफ प्रमुखले घोषणा गरे।
राज्यका दक्षिण र पश्चिमसहित पूर्व जिल्लामा पनि पानीको समस्या रहेको कुरालाई विशेष रेखाङ्कित गर्दै आगामी सरकारमा सबैका घरमा स्वच्छ पेय जल पुर्याउने कार्य सरकारले प्राथमिकताका साथ गर्ने उनले मतदाताहरूलाई भरोसा दिलाए।
यसैगरी, हरेक समष्टिमा एउटा प्रमुख पर्यटनस्थल, होमस्टेको विकास, रिनाक समष्टिमा रहेको गौशालामा सोही क्षेत्रका युवाहरूलाई नोकरी दिने, लिङ्ताम स्कूललाई उच्चतर माध्यमिक विद्यालय बनाउने, दलपचन्दको उप-स्वास्थ्य केन्द्रलाई स्वास्थ्य केन्द्रमा बढ़ोत्तरी गर्ने, छुजाचेन समष्टिमा ठूलो पर्यटनस्थल बनाउने, बेकारीमुक्त सिक्किम बनाउने, चालकहरूलाई गाड़ीको करबाट छुट दिने, लाइसेन्स नवीकरण सहज बनाउने, क्षमता विकेन्द्रीकरण गरेर बीडीओलाई शक्तिशाली बनाउने जस्ता चुनावी घोषणाहरू पनि चामलिङले गरे।
यसअघि, जनसभालाई सम्बोधन गर्दै एसडीएफका लोकसभा उम्मेदवार डीबी कटवालले विपक्षीमा सिक्किमको विकास देख्ने आँखा नभएको बताए।
जनसभामा नाथाङ-माछोङका उम्मेदवार डीटी लेप्चा, छुजाचेनका उम्मेदवार केबी राई र रिनाकका उम्मेदवार हेमेन्द्र अधिकारीको पनि उपस्थिति थियो भने छुजाचेनका निवर्तमान विधायक विक्रम प्रधान, एसडीएफका वरिष्ठ नेताहरू डीडी भोटिया, सोमनाथ पौड्याल पनि विशेष रूपमा उपस्थित थिए।