सर्वोच्चको फैसलालाई विनयको स्वागत : भने –सर्वोच्चको फैसलाले पहाड़ अशान्त हुनबाट जोगिएको छ

0
1132
विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ, 3 अप्रेल : विमल गुरुङ र रोशन गिरीहरूको याचिकामाथि बुधबार सर्वोच्च न्यायालयले सुनाएको फैसलालाई गोजमुमो (दोस्रो खेमा)-का अध्यक्ष विनय तामाङले स्वागत जनाएका छन्। साथै उनले यो फैसलालाई लिएर उनले सर्वोच्च न्यायालयलाई धन्यवाद पनि दिएका छन्।

चुनाउ प्रचारका लागि विमल गुरुङहरूले गरेको याचिकालाई सर्वोच्चले खारेज गरेको भन्दै विनयले सर्वोच्चको फैसलालाई स्वागत जनाएका हुन्।

सर्वोच्चको फैसलाले पहाड़ पुनः अशान्त हुनबाट जोगिएको तामाङको भनाइ छ। उनले भनेका छन्, ‘‘यदि विमल गुरुङहरू दार्जीलिङ आउन पाएको भए, यहाँ फेरि अशान्ति हुने थियो। स्थिति गम्भीर बन्नेथियो। किनभने विगतमा उनीहरूकै कारण दार्जीलिङ पहाड़ अशान्त बनेको थियो। यहाँको व्यापार-वाणिज्य सबै डाँवाडोल बनेका थिए। यसैले उनीहरू यहाँ आएको भए फेरि त्यस्तै स्थिति फर्किएर आउने निश्चित थियो।’’

विनयले थप भने, ‘‘यसैले सर्वोच्च न्यायालयले उनीहरूको अग्रिम जमानतरो अर्जीलाई खारेज गरेर पहाड़लाई पुनः अशान्त हुनबाट जोगाएको छ। विमल गुरूङ, रोशन गिरी, आशा गुरूङ अनि विमल गुरूङका छोरा अविनाश गुरुङविरूद्ध वर्ष 2017-मा आन्दोलनको समय धेरैवटा आपराधिक मामला दर्ता भएको थियो। त्यसपछि उनीहरू भूमिगत भएका थिए। तर गत केही दिनअघि विमल गुरूङले एक अडियो जारी गरेर चुनाउको लागि प्रचार गर्न दार्जीलिङ पहाड आउने बताउँदै जमानतका लागि सर्वोच्च न्यायालयमा एक अर्जी दर्ता गरेको बताएका थिए। यसमाथि हिजो पनि सुनवाई भएको थियो भने आज पनि भयो। जसमा सर्वोच्च न्यायालयको एक खण्डपीठले यो मुद्दालाई खारेज गरिदिएको छ। यसको लागि कलकत्ता उच्च न्यायालयमा अग्रिम जमानतको लागि अपील गर्नपर्ने साथै अपील गरिएपछि सम्बन्धित क्षेत्रको लोअर अदालतले उच्च अदालतलाई सर्टिफाइ कपी र एनओसी दिएपछि मात्रै उच्च न्यायालयले यो मुद्दालाई स्वीकार गर्ने पनि निर्देश दिएको छ।’’

यसका साथै विमललाई पर्खेर बस्नेहरूलाई मूलधारमा आउने अपील पनि उनले गरेका छन्। ‘‘सर्वोच्च न्यायालयको यो निर्देश भारतीय जनता पार्टीलाई पनि गत्तिलो थप्पड़ हो’’, उनले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here