दार्जीलिङ, ३ अप्रेलः गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले बन्द रहेका तीनवटा चियाकमान क्रमैले पेशोक, धोत्रे र कलेजभेल्लीका श्रमिकहरूले आर्थिक सहायतामार्फत् ३७५०० रुपियाँ पाउने बताएका छन्। उनका अनुसार यो राशि कमानको खातामा आजदेखि पस्नेछ।
यसका साथै तामाङले मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिएका छन्। विनयका अनुसार पश्चिम बङ्गाल सरकारको यस योजनाबाट २५५० श्रमिक लाभान्वित हुनेछन्।
तामाङले यसका लागि आफ्नो पार्टीको श्रमिक सङ्गठनलाई श्रेय दिएका छन्।
उनको दाबीका अनुसार दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनको अथक प्रयासस्वरूप बन्द रहेका कजेलभेल्ली, धोत्रे र पेशोक चियाकमानका श्रमिकहरूले एफएडब्ल्यूएलओआईमार्फत सहायता राशि ३७,५०० रुपियाँ प्रतिश्रमिक आजदेखि पाउने भएको हो।
आज एक प्रेस विज्ञप्ति जारी विनय तामाङले बताएअनुसार अहिले २१३३ श्रमिकले यो राशि पाउनेछन्। ‘कतिपय तक्निकी कारणले गर्दा रहल ४१७ श्रमिकको यो सहयोग राशि समयमा पस्न सकेन। तर यस लकडाउनको स्थिति सामान्य हुनसाथै उनीहरूको पनि पैसा पस्नेछ’, उनले भनेका छन्।
उनले थप भनेका छन्, ‘हामी बोलीमा होइन, तर कर्ममा विश्वास राख्छौं। जमिनी यथार्थसँग जोड़िएका ममता ब्यानर्जीको दक्ष नेतृत्वको कारण पहाड़ले नयाँ दिशा पाइरहेको छ।’
यसैगरी विनयले सम्पूर्ण श्रमिक, दार्जीलिङ पहाड़का जनता र डीटीडीपीएलयूको पक्षबाट मुख्यमन्त्री ममता ब्यानर्जी, श्रममन्त्री मलय घटक, मन्त्री अरूप विश्वासलगायत अन्यप्रति आभार प्रकट गरेका छन्।
अर्कोतिर उनले लोहिया ग्रुप अव् कम्पनिजले आफ्ना चियाकमानहरूका श्रमिकहरूलाई मार्च महिनाको रोज दिने निर्णय लिएको बताउँदै गोजमुमो (दोस्रो खेमा) र डीटीडीपीएलयूको तर्फबाट यस कम्पनीप्रति पनि आभार प्रकट गरेका छन्।