-प्रदीप लामा
कालचिनी, ३ अप्रेलः अलिपुरद्वारका सांसद जोन बारलाको सहयोगमा बन्द अवस्थामा रहेका कालचिनी र रायमट्याङ चियाकमानका श्रमिकहरूलाई खाद्यान्न वितरण गरिएको छ।
विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा र भाजपाका कार्यकर्ताहरूले सांसदद्वारा उपलब्ध गराइएको खाद्यान्न हिजो कालचिनीका एक हजारभन्दा अधिक श्रमिक र आज रायमट्याङ चियाकमानका ८५० श्रमिकलाई वितरण गरे।
बन्द अवस्थामा रहेका कालचिनी र रायमट्याङ चियाकमानका श्रमिकहरू लकडाउनले थप सङ्कटमा परेको ठहर गरी सांसदले श्रमिकहरूका लागि खाद्यान्न उपलब्ध गराएका हुन्।
यसअवसरमा विमलपन्थी नारी मोर्चाबाट पूजा सम्पाङ राई, देविका दर्जी, पुष्प लामा, कान्छी लामा र युवा मोर्चाबाट अमित लामा तथा भाजपाका स्थानीय सचिव सुदाम लामा, पञ्चायत सदस्य निकिता राईको विशेष रूपले खटिएका थिए।
यसैगरी खाद्यान्न वितरणमा अन्यले पनि सहयोग पुऱ्याएको बताइएको छ।
जानाकरीका अनुसार बिहीवार कालचिनी चियाकमानमा भाजपा नेता राजेश बारलाको उपस्थितिमा खाद्यान्न वितरण गरिएको थियो।