बन्दअवधिको क्षतिपूर्ति राशि चियाश्रमिक र सिन्कोना बगानका कर्मचारीहरूले चाँड़ै पाउनेछन् : विनय

0
1482
चुनाउ प्रचारअवधि जनता भेट्दै विनय तामाङ।

दार्जीलिङ, 3 मई : पछिल्लो गोर्खाल्याण्ड आन्दोलनमा भएको 105 दिने पहाड़ बन्दअवधिको दैनिक हाजिरा क्षतिपूर्ति राशि दार्जीलिङ पहाड़का चियाश्रमिक र सिन्कोना बगानका कर्मचारीहरूले चाँड़ै पाउने स्वतन्त्र उम्मेदवार विनय तामाङले शुक्रवार बताएका छन्।

तामाङले हिजो र आज नागरी-धजे तथा पोख्रेबुङ-चामोङ समष्टिका विभिन्न चियाकमानमा आयोजित पथसभामा यस्तो दाबी गरेको एक प्रेस विज्ञप्तिमा बताइएको छ। तामाङ स्वयंले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएका छन्।

विज्ञप्तिमा बताएअनुसार 105 दिने आन्दोलनकालीन बन्दका हाजिरा सबै  सरकारी कर्मचारीले प्राप्त गरिसकेका छन्, तर सिन्कोना बगान र चियाकमानका श्रमिकहरूले पाएका थिएनन्।

“हामीले राज्य सरकारसँग यस विषयमा निरन्तर कुराकानी गर्दै आइरहेका थियौं। यसैको फलस्वरूप राज्य सरकारले दार्जीलिङ पहाड़का 87 वटै चियाकमान र सिन्कोना बगानको 105 दिनको दैनिक हाजिरा प्रदान गर्नका लागि 108 करोड़ रुपियाँ प्रदान गर्न राजी भएको र यसमध्ये 1 करोड़ रुपियाँ प्रदान गरिसकेको छ”, विज्ञप्तिमा बताइएको छ।

विज्ञप्तिका अनुसार चुनाउ आचार संहिता समाप्त भएपछि गोजमुमो दुई र तृणमूल कङ्ग्रेसका नेतृत्वहरूको उपस्थितिमा जीटीएका अधिकारीहरूले उक्त रकम श्रमिकहरूलाई वितरण गर्ने तामाङले बताएका छन्।

विज्ञप्तिमा थप जानकारी गराएअनुसार तृणमूल समर्थित स्वतन्त्र उम्मेदवार विनय तामाङले हिजो बिहीवार चामुङ, सियोक, गोपालधारालगायत नागरी समष्टिअन्तर्गत मगरजुङ, माथिल्लो-तल्लो एभनग्रोप चियाकमान, नागरीफार्म, धजे बजारलगायत अन्य स्थानहरूको भ्रमण गर्नका साथै ती  स्थानहरूमा पथसभा पनि गरेका थिए भने आज पोख्रेबुङ-चामोङ समष्टिअन्तर्गत तल्लो-माथिल्लो समरिकपानी, पोख्रेबुङ, टर्जम, चामोङ चियाकमानलगायत अन्य स्थानहरूको भ्रमण गरेका थिए भने यी स्थानहरूमा पनि पथसभा गरे।

तामाङले उल्लिखित स्थानहरूमा आयोजित पथसभामा आफू कुर्सीको लोभले नभएर दार्जीलिङ पहाड़मा लामो समयदेखि थाँतीमा रहेको पहाड़का विभिन्न समस्याहरूको समाधान गर्नका लागि विधानसभा चुनाउमा खड़ा भएको दाबी पनि दोहोर्‍याए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here