१९ वटा समाजको चिन्ता- देशका विभिन्न राज्यमा रहेका मानिसहरू दार्जीलिङ फर्किएपछि के हुन्छ?

0
1098

दार्जीलिङ, 3 मईः देशका विभिन्न स्थानबाट दार्जीलिङ पहाड़ फर्किनेहरू यहाँ आएपछि के हुन्छ? भन्ने कुराले दार्जीलिङको काकझोड़ादेखि राजबारी अनि आर्य चियाकमानसम्मका 19 वटा समाज चिन्तित छन्।

यसैकारण यी 19 वटा समाज मिलेर फाइटिङ अगेन्स्ट कोभिड-19 फोरम नाम दिएर एक सङ्गठनको गठन गरेका छन्, जसले यी 19 वटा समाजबाट कतिजना हाल दार्जीलिङ पहाड़देखि बाहिर छन् भन्ने विवरण बटुल्ने कार्य शुरू गरेको छ।

बाहिरबाट आफ्नो घर फर्किनेहरू दार्जीलिङ आएपछि यहाँ कोरोना सङ्क्रमणको स्थिति कस्तो हुन्छ? भन्ने विषयलाई नै यो सङ्गठनले प्राथमिकता दिएर कार्य गर्ने भएको छ। ताकि यहाँका कुनै पनि गाउँमा बाहिरबाट आएकाहरू सोझै आफ्नो घरमा नआउन्।

फाइटिङ अगेन्स्ट कोभिड-19 फोरमका मुख्य सल्लाहकार देवकुमार प्रधानले यसबारे आज पत्रकारहरूलाई सम्बोधन गर्दै भने, ‘‘काकझोड़ादेखि आर्य चियाकमानसम्मका कुल 19 वटा समाजबाट दार्जीलिङदेखि बाहिर रहेका मानिहरूको विवरण जुटाउने कार्य शुरू गरिएको छ। यी 19 वटा समाजमध्ये राजबारीको दीपक समाजबाट मात्रै 85 जना देशका विभिन्न प्रान्तसँगै विदेशमा पनि रहेको जानकारी पाइएको छ।‘’

यसैले यदि यी 85 जनामध्ये एकैजना पनि आफ्नो घर फर्किए सम्बन्धित घरले यो सङ्गठनलाई आफ्नो छोरा वा छोरी घरमा आएको जानकारी गराउन पर्ने उनले बताएका छन्। ताकि उक्त घरका छोरा, छोरी वा सदस्यलाई सहजै होम क्वारेन्टाइनमा नभए सरकारद्वारा तयार पारिएको क्वारेन्टाइनमा राख्न सकियोस्।

प्रधानका अनुसार यो घर परिवारसँगै सम्पूर्ण गाउँ-समाजकै सुरक्षाका लागि हो।

‘‘कोरोना सङ्क्रमणकै कारण देशमा चलिरहेको दोस्रो चरणको लकडाउनको म्याद पनि आज समाप्त भयो। र तेस्रो चरणको लकडाउन भोलिदेखि शुरू हुनेछ’’, उनले थपे, ‘‘तर यस लकडाउनअवधिभरि दार्जीलिङमा कोरोना भाइरसले कसैलाई पनि सङ्क्रमित बनाएको खबर छैन, यो असल खबर नै हो। तर अब देशका विभिन्न राज्यमा अड्किएर बसेका विद्यार्थी, श्रमिक, कर्मचारी, उपचार गर्नको लागि गएका रोगीहरूलाई पनि आ-आफ्नो घर फर्काउने सरकारी पहल शुरू भइसकेको छ। बाहिर अड्किएर बसेकाहरू यहाँ आएपछिको स्थिति कस्तो हुन्छ भन्ने चिन्ताले सबैलाई नै सताइरहेको छ।‘’

यसैलाई ध्यानमा राखेर काकझोड़ा, राजबारी अनि आर्य चियाकमानसम्मका कुल 19 वटा समाज मिलेर यो सङ्गठनको गठन गरिएको उनको भनाइ छ।

‘‘दार्जीलिङका अन्य गाउँ-समाजहरूले पनि यस्तै पहल गरे दार्जीलिङमा कोरोना सङ्क्रमण भित्रिन सक्नेछैन’’ प्रधानले भनेका छन्।

 यसरी नै सङ्गठनका उपाध्यक्ष पेम्बा बम्जनले बाहिरबाट आउनेहरू आफ्नो घर फर्किएपछि दार्जीलिङमा क्वारेन्टाइनको गतिलै समस्या हुने पनि आशङ्का व्यक्त गरे।

उनले भने, ‘‘दार्जीलिङका अधिकांश घर परिवार भाड़ाको घरमा बस्ने गरेका छन्। आफ्नै घरमा बस्नेहरूको पनि घर सानो छ। जसको कारण बाहिरबाट आएकाहरूलाई होम क्वारेन्टाइनमा बस्न धेरै असुविधा हुनेछ।‘’

यसैकारण यस्ताहरूका लागि दीपक समाजले आफ्नो क्षेत्रमा रहेका स्कूल, सार्वजनिक भवन आदिलाई क्वारेन्टाइनको रूपमा सञ्चालन गर्ने योजना पनि बनाएको बम्जनले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here