दार्जीलिङ, 3 मईः अब विमल गुरुङको राजनैतिक भविष्य कतातिर? यसमाथि दार्जीलिङ पहाड़मा कैयौं प्रश्न उठ्न थालेका छन्।
के विमल गुरुङको राजनीतिक अस्तित्व सङ्कटमा नै परेको हो त?
हिजो दार्जीलिङ पहाड़का तीनवटा विधानसभा आसनको परिणाम सार्वजनिक भएपछि विमल गुरुङको राजनीतिक भविष्य लिएर धेरै प्रश्न उठिरहेका छन्।
यसै विषयमाथि बल दिँदै विनय तामाङले अब विमल गुरुङको राजनीतिक यात्रा समाप्त भएको विधानसभा चुनाउ परिणामले स्पष्ट पारेको बताएका छन्।
उनले भने, “लगभग 3 वर्षपछि अक्टोबर 2020-को दिन विमल गुरुङ कलकत्तामा देखा परेपछि उनका समर्थकहरू धेरै उत्साहित अनि उत्तेजित बनेका थिए। त्यसपछि उनका समर्थकहरूले 2 मईपछि दार्जीलिङ पहाड़का धेरैजना नेताहरूको घर कुड्की हुने जस्ता धम्की पनि दिन थालेका थिए। यति मात्रै होइन, विमल गुरुङले उत्तर बंगालका 17 वटा विधानसभा आसनमा आफ्नो प्रभुत्व रहेको दावी गर्दै यी आसनहरू तृणमूल कङ्ग्रेसका लागि जीत दिलाउने वाचासमेत गरेका थिए। तर, उनले आफ्नै स्थान दार्जीलिङ पहाड़का तीनवटा आसन पनि बचाउन सकेनन्।”
विनयले थपे, “उनको पार्टी दार्जीलिङ पहाड़का तीनवटा आसनमा तेस्रो स्थानमा आएको छ। यसैबाट विमल गुरुङको राजनीतिक भविष्य अनिश्चित बनेको छ।”
उनका अनुसार दार्जीलिङ पहाड़का कुल मतदानमध्ये भाजपाले 1,96,718 मत पाएको छ। जसअनुसार, भाजपाको मत प्रतिशत 39.4 प्रतिशत हो। यसपछि विमल गुरुङका उम्मेदवारहरूले मोठ 1,03,190 वा 20.7 प्रतिशत मत पाएका छन्। यसरी नै विनय तामाङपन्थी गोजमुमोका एक उम्मेद्वारको जीत भएको छ भने यस पार्टीलाई कुल 1,63,797 मत प्राप्त भएको छ, जसको मत प्रतिशत 32.8 प्रतिशत छ।
विनयले थप बताएअनुसार यीमध्ये भाजपालाई दार्जीलिङ पहाड़का 5 वटा पार्टीले सहयोग प्रदान गरेका थिए भने विमल गुरुङपन्थी गोजमुमोलाई हिल तृणमूल कङ्ग्रेस र धार्मिक सङ्गठनहरूले साथ दिएका थिए। तर, आफ्नो पार्टी क्षेत्रीय राजनीति बचाउने उद्देश्य लिएर एक्लै यस चुनाउको मैदानमा उत्रिएको उनको भनाइ छ।
“भाजपा गठबन्धनको तुलनामा विनय तामाङपन्थी गोजमुमो केवल 6.6 प्रतिशतले पछि परेको छ”, उनले थपे।
विनय तामाङले गुरुङलाई सम्बोधनमा राख्दै भने, “अब उनले आफ्नो हार स्वीकार गर्नुपर्छ। किनभने, उनको राजनीतिक यात्रा समाप्त भएको हिजोको मतगणनाबाट स्पष्ट भएको छ।”
यसका साथै उनले विमल गुरुङलाई भावनाको राजनीति गरेर जनतालाई उचाल्ने काम गर्न नहुने आह्वान गरे।
यसैबीच, तामाङले आफ्नो पार्टीबाट विजयी बनेका रूदेन सादा लेप्चाले राज्यमा गठन हुने ममता ब्यानर्जी सरकारलाई नै सहयोग प्रदान गर्ने स्पष्ट पारे।
यसरी नै उनले दार्जीलिङ अनि खरसाङ विधानसभा आसनबाट जीत हासिल गर्ने नीरज जिम्बा र बीपी बजगाइँलाई बधाई दिँदै अब उनीहरूले आ-आफ्नो क्षेत्रका विभिन्न समस्या समाधान गर्ने दायित्व इमानदारीसित पालन गर्नुपर्ने सुझाउ दिए।
“किनभने, जनताले उनीहरूमाथि आस्था राखेका छन् अनि विकासकै लागि जनताले उनीहरूलाई चयन गरेका छन्। अब जनताको इच्छा उनीहरूले पूरा गरेर देखाउनुपर्छ”, विनयले थपे।