कोलकाता, 3 मई : लोकसभा चुनाउ सकिएलगत्तै पश्चिम बङ्गालमा राजनीतिक लड़ाइँ जारी छ। भारतीय जनता पार्टीका बङ्गाल प्रभारी कैलाश विजयवर्गीयले तृणमूल कङ्ग्रेस सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीमाथि तीखो हमला गरेका छन्।
यी भाजपा नेताले चुनाउ सकिएलगत्तै तृणमूल कङ्ग्रेसले भाजपा कार्यकर्ताहरूमाथि दिन प्रतिदिन हमला गरिरहेको आरोप लगाएका छन्।
‘‘ममता ब्यानर्जीको जमिन धस्किसकेको छ। उनको मानसिक स्थिति गड़बड़ भएको छ। ममतालाई अहिले उपचारको खाँचो छ’’, कैलाश विजयवर्गीयले भने।
भाजपा नेताले लगाएको आरोपका अनुसार चुनाउ सकिएपछि पनि बङ्गालमा तृणमूल कार्यकर्ताहरूले भाजपाको विजय जुलूसमा हमला र बम फ्याँक्नेजस्ता कार्य गरिरहेका छन्। उनले भने, ‘‘लोकसभा चुनाउको परिणामपछि हाम्रा तीनजना कार्यकर्ताको हत्या भइसकेको छ।’’
विजयवर्गीयले थपे, ‘‘ममता ब्यानर्जीले नै कानून तोड़िरहेकी छन्।’’ विजयवर्गीयले बङ्गालमा राष्ट्रपति शासन लगाउने माग नगरिरहेको तर राज्यको कानून व्यवस्थाको हालतबारे राज्यपालले नै राष्ट्रपतिलाई रिपोर्ट दिने बताए।
उनले जय श्रीरामको मुद्दामाथि भाजपाले राजनीति गरिरहेको ममताको आरोपलाई सोझै खण्डन गरेका छन्। उनले भने, ‘‘हामीले जय श्रीरामको नारालाई लिएर राजनीति गरिरहेका छैनौं। जय श्रीराम देशमा सबैले भन्छन्। कङ्ग्रेसका नेताहरूले पनि पनि जय श्रीराम भन्छन्।’’
आफ्नो राजनीतिक जमिन लगातार धस्किरहेकोले जय श्रीरामको नाराले ममता ब्यानर्जी चिँढ़िरहेको यी भाजपा नेताले बताए।
अर्कोतिर यी भाजपा नेताले 2021 मा बङ्गालमा भाजपाको सरकार बन्ने दाबी गरे। यसैबीच, सोमबार तृणमूल नेता शङ्कर मण्डलसहित मुर्शिदाबादमा 5,000 मानिस भाजपामा सामेल भएको दाबी गरिएको छ।