स्थायी राजनीतिक समाधानका लागि ऐक्यबद्धताको अपील , गिरीले भने-स्थायी समाधान छुट्टै राज्य, नभए यूटी

0
1577
रोशन गिरी।

दार्जीलिङ, 3 मई : विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का महासचिव रोशन गिरीले  सोमबार एक भिडियो जारी गरी दार्जीलिङ पहाड़को समस्याको स्थायी राजनीतिक समाधानका लागि पहाड़का सबैजना एकबद्ध हुनुपर्ने अपील गरेका छन्।

5 मिनट 16 सेकेन्डको भिडियोमा उनले विनय तामाङ र अनित थापालाई पनि जनताले खारेज गरिसकेको गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) छोड़ेर स्थायी राजनीतिक समाधानका लागि अघि आउने आह्वान गरेका छन्। गिरीले दार्जीलिङ पहाड़का लागि स्थायी राजनीतिक समाधान छुट्टै राज्य गोर्खाल्यान्ड नभए युनियन टेरिटोरी (यूटी) हुने पनि खुलाएका छन्।

“हामीलाई चाहिएको स्थायी राजनीतिक समाधान हो। त्यसैले यसका लागि केन्द्रले सोध्छ-यहाँ कसको जनप्रतिनिधिहरू छन्? त्यसबेला बाधाबिघ्न उत्पन्न हुँदैछ”, उनले थप भनेका छन्, “यिनीहरू तृणमूलको पक्षमा छ। बङ्गालको पक्षमा छ भन्ने सन्देश जान्छ। तर जनताले तृणमूल/बङ्गाल पक्ष चाहँदैनन्। हिजोको दिनमा पनि जनताले तृणमूल र बङ्गाल पक्षकाहरूको विरोधमा आफ्नो मत दिएका छन्।”

उनले थप भनेका छन्, “अब स्थायी राजनीतिक समाधानका लागि हामी अघि बढ़्नुपर्छ। यहाँ डर, त्रास र भय देखाएर हुँदैन। यतिबेला अनित थापा र विनय तामाङहरूले पनि बुझिदिनु पर्छ। यो स्थायी राजनीतिक समाधान कोक्रोको नानी र आगामी दिनमा जन्मिने नानीहरूको भविष्यसँग जोड़िएको छ। यसैले उनीहरूले पनि बुझ्नुपर्छ। पहाड़लाई शान्ति बनाएर राख्नुपर्छ।” गिरीले आज भाजपाले स्थायी राजनीति समाधानको कुरा गरिरहेको पनि बताएका छन्।

“स्थायी राजनीतिक समाधानका लागि हामी जाऊँ न”, उनले थपे, “स्थायी राजनीतिक समाधान कि छुट्टै राज्य नभएर यूटीमा हुन्छ।” गिरीले अझ भने, “सेमी अटोनोमस बडी दार्जीलिङ गोर्खा हिल काउन्सिल (दागोपाप) र गोर्खाल्यान्ड टेरिटोरियल एड्मनिस्ट्रेशन (जीटीए) विफल भइसकेका छन्। जनताले नकारिसकेको छ। छैटौं अनुसूची जनताले रिजेक्ट गरिसकेको व्यवस्था हो। त्यसैले आज हामी सरकारलाई भन्नसक्छौं-हामीलाई राज्य देऊ, नभए यूटी देऊ। हामीले संवैधानिक माग गरेका हौं।”

उनले आफूहरूले जीटीएको कुर्सी नताकेको तर जनमत गोर्खाल्यान्ड माग्नेहरूतिर छ कि गोर्खाल्यान्डको विरोध गर्नेहरूतिर भन्ने सरकारलाई देखाउनका लागि नगरपालिकामा दाबी जनाएको खुलाए।

विमलपन्थी मोर्चाका महासचिवले दार्जीलिङ नगरपालिकाका नगरपार्षद्हरूले जस्तै भोलिको दिनमा खरसाङ, कालेबुङ र मिरिकका नगरपार्षद्हरूले पनि आफ्नो पक्ष परिवर्तन गर्ने कुरामा विश्वास व्यक्त गरे। यसका साथै उनले पछिल्लो लोकसभा र दार्जीलिङ विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेस र विनय-अनित खेमाको हारले उनीहरूको पक्षमा जनमत नरहेको स्पष्ट भएको बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here