खरसाङ, 3 जून : सन् 2017 –मा ‘सुनको चुरा’ कविता सङ्ग्रह प्रकाशित गरेका तीनधारे नयाँ कमान निवासी युवा लेखक मन विश्वले कप फुटेपछि कथा सङ्ग्रह नेपाली साहित्यका पाठकहरूको हातमा थमाएका छन्।
समोबार खरसाङको एक होटलमा टेबल टोलीको आयोजनमा उनको यो कथा सङ्ग्रहको क्याफे रिलिज गरियो। टेबल टोलीका सदस्य तथा खरसाङका सर्जकहरू क्रमैले बालकृष्ण थामी, प्रदीप शेर्पा, उषाकिरण सत्यदर्शी, निरङ्कर थापा, सङ्गीता थापा, सञ्जीव छेत्री, मिलन प्रधानलगायत कथाकार मन विश्व र उनका दाजु जनक बाल्मिकीले ‘कप फुटेपछि’-को क्याफे रिलिज गरेका थिए।
टेबल टोलीले पहिलोपटक प्रयोगस्वरूप क्याफे रिलिजमार्फत् कुनै कृतिको रिलिज गरेको हो। यो सामान्य रूपमा असामान्य कृतिकेन्द्रित कार्यक्रम रहेको थियो।
हनोक थापाद्वारा सञ्चालित कार्यक्रममा सिद्धहस्त युवा कथाकार सञ्जीव छेत्रीले लोकार्पित कथा सङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी राखे। ‘मन विश्व आफ्नै वरिपरिबाट कथा टिप्ने, खिप्ने र बुन्ने कथाकार हुन्’, उनले थपे, ‘उनको कथामा हामी समाज र व्यक्तिको परिवेश र मनोविज्ञान पाउँछौं।’
छेत्रीको हेराइमा विश्वले आधुनिकताले अल्झिएका चरित्रका कथाहरू लेखेका छन्। मानवीय मूल्यहरूको विघटनप्रति चिन्ता व्यक्त गरेका छन्। कहिले गाउँ, चियाबारी, बजार, शहर, नोस्टालजिया यथार्थ सबैको तस्वीर उतारेका छन्, कथामा।
‘उनी लेख्छन्, किनभने नलेखी उनलाई धरै छैन’, छेत्रीले थपे, ‘सुन्दर लेख्ने उनी इमानदार लेखक हुन्। उनी लेखनसँगै सुन्दर चित्र पनि कोर्छन्।’
कार्यक्रममा कथाकार मन विश्वको परिचय गाउँले दाजु एवं कवि मिलन प्रधानले गरेका थिए। परिचयको क्रममा कवि कथाकार विश्वलाई सुनचरी कालमा पुऱ्याएर हास्य व्यङ्ग्यकारको रूपमा चिनाए। साथै हास्य व्यङ्ग्य पुटका रचनाहरूको सङ्ग्रह निकाल्नका लागि झकझकाए।
कार्यक्रममा प्रदीप शेर्पा, बालकृष्ण थामी, सङ्गीता थापा र निरङ्कर थापाले पनि कथाकार मन विश्वलाई कृतिका लागि शुभकामना दिँदै लेखीय दायित्वबोधप्रति सजग गराए।
कार्यक्रममा उमेद गोले, अरुण लामा, तारा वशिष्ट रावत, उज्ज्वल सेवा र नितेश राई पनि उपस्थित थिए। यसअवसरमा उपस्थित सर्जकहरूले आ-आफ्नो रचना वाचन तथा साहित्यिक विमर्ष पनि गरेका थिए।