दार्जीलिङ, ३ जूनः जीटीए बीओएका अध्यक्ष अनित थापाले होटल मालिकहरूद्वारा मिडियामार्फत् आफ्नो निर्णय सुनाउनु उचित नरहेको बताएका छन्।
उनले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी कोरोनाको पछि लागेर मात्र हाम्रो जिन्दगी चल्दैन। हिजो मात्र दार्जीलिङ होटल ओनर्स एसोसिएशनले आगामी जुलाई बन्द राख्ने घोषणा गऱ्यो। यसो भए होटलमा काम गर्ने प्रायः १० हजार मानिस बेरोजगार हुनेछन्। तर, यसबारे एकतर्फी निर्णय लिनु उचित होइन।
हाल होटललाई धेरै मर्का परेको छ भन्ने विषय आफूलाई राम्ररी थाह रहेको उनले बताएका छन्। तर कुनै पनि निर्णय लिँदा विचार विमर्श गरी लिएको असल हुने उनको भनाइ छ।
प्रेसलाई बोलाएर निर्णय सुनाउनु मेरो विचारमा ठीक थिएन। हामी बसेर कुनै न कुनै समाधानको बाटो निकाल्नु पर्छ। यसैले म होटल मालिक अनि कर्मचारी युनियनसँग बसेर समाधान निकाल्न चाहन्छु।