म्याड्रिड, ३ जुलाईः गेटाफेमाथि जीत गरेपछि रियल म्याड्रिड उपाधितर्फ सिँड़ी थप उक्लिएको छ। यो जीतसँगै रियलले आफ्नो चिर प्रतिद्वन्द्वी बार्सिलोनाभन्दा चार अङ्कको स्पष्ट अग्रता प्राप्त गरेको छ।
अब ३३ खेलबाट रियलको ७४ अङ्क भएको छ। यति नै खेलमा बार्साको ७० अङ्क छ।
हिजो अबेर राति खेलिएको खेलमा रियलका लागि कप्तान सर्जियो रामोसले गोल गरे। यो गोल नै जीतका लागि निर्णायक बनेको थियो। रामोसले खेलको ७९औं मिनटमा पेनल्टी गोल गरेका थिए।
खेलभरि रियलले आफ्नो पकड़ बनाएको थियो। यद्यपि केही अवसरलाई गोलमा परिणत गर्न पनि चुकेको थियो।
यो जीतसँगै रियल म्याड्रिड ला लिगा उपाधिको केही नजिक पुगेको छ।
उल्लेखनीय छ, कोरोना ब्रेकपछि एकतिर रियलले उत्कृष्ट प्रदर्शन गर्दै एकपछि अर्को खेल जित्दै उपाधितर्फ बढ़िरहेको छ भने अर्कोतिर बार्सिलोना आफूभन्दा कमजोर टिमहरूसँग बराबरी खेलेर उपाधिको दौड़मा पछि परिरहेको छ।