चियाश्रमिकहरूलाई लकडाउनअवधिको वेतन शीघ्र दिनुपर्ने माग

0
1100

दार्जीलिङ, ३ जुलाईः प्रथम चरणको लकडाउनअवधिको रोजी चियाश्रमिकहरूलाई शीघ्र भुक्तान गर्नुपर्ने माग लिएर आज फेरि दार्जीलिङ पहाड़सँगै तराई, डुवर्सका चियाकमानहरूमा पनि आवाज चर्को भएको छ।

तराई-डुवर्सका चियाकमानहरूमा चियाश्रमिकहरू आफै मैदानमा ओर्लिएर आफ्नो हकका लागि नारा लगाए भने दार्जीलिङ पहाड़का केही चियाकमानमा जोइण्ट फोरमका नेतृत्ववर्गले प्रबन्धकहरूलाई ज्ञापन दिएर चियाश्रमिकहरूका अधिकारको माग उठाए।

यसै विषय लिएर जोइण्ट फोरम दार्जीलिङ हिल सब-कमिटीका प्रवक्ता सुनिल राईसित सम्पर्क गर्दा उनले अझैसम्म पनि चियाश्रमिकहरूलाई लकडाउनअवधिको रोजी भुक्तान नगरिएको बताउँदै यसैका लागि आज फेरि श्रमिक सङ्गठनहरू अघि आउन बाध्य बनेको बताए।

उनले भने, “चियाश्रमिकहरूले लकडाउनअवधिको रोजी पाएका छैनन्। कोरोना सङ्क्रमणको कारण केन्द्र सरकार देशमा लकडाउनको घोषणा गर्न बाध्य बनेको थियो अनि देश नै लगभग अचल बनेको थियो। त्यस लकडाउनअवधिको रोजी वा वेतन कसैले पनि कसैको काट्न नपाउने पनि केन्द्र सरकारको निर्देश थियो। तर यतिका दिन बितिसक्दा पनि अहिलेसम्म चियाबगान मालिकहरूले श्रमिकहरूले पाउनुपर्ने रोजी दिएका छैनन्।’’

उनले थपे, “दार्जीलिङका केही चियाकमान छोड़ेर प्रायःजसो चियाकमानहरूले आफ्ना श्रमिकहरूलाई लकडाउनअवधिको रोजी भुक्तान गरेका छैनन्, यसैले घरी घरी श्रमिक सङ्गठनहरू यसका लागि आवाज उठाउन बाध्य बन्न परिरहेका छन्।’’

यसका साथै राईले चियाश्रमिकहरू वर्षौंदेखि बस्दै आएको घर-घड़ेरीको पर्जा-पट्टा उनीहरूको नाममा दिनुपर्ने, न्यूनतम् रोजी ऐन शीघ्र लागू गर्नुपर्ने साथै चियाबगानको जमीनलाई अन्य कार्यका लागि उपयोगमा ल्याउन बन्द गर्नुपर्ने, डङ्कन्स अनि अल्केमिस्ट अधीनस्थ लगायत अन्य बन्द चियाकमानहरूको सञ्चालन शीघ्र सुनिश्‍चित गर्नुपर्ने, बन्द चियाबगानका श्रमिकहरूले पाउने फौलाइको राशिलाई वृद्धि गरेर ७,५०० रुपियाँ बनाउनुपर्ने, २०० दिनको मनरेगाको कामका साथै अन्य बुनियादी सुविधाहरू पनि उपलब्ध गराउनुपर्ने पनि जोइण्ट फोरमले माग गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here