सामाजिक मुद्दा उठान र निराकरणका लागि गोरामुमोले गठन गऱ्यो जनचेतना सङ्घर्ष समिति

0
1157
नवगठित जनचेतना सङ्घर्ष समितिका पदाधिकारीहरूसँग अजय एड्वर्स।

दार्जीलिङ, 3 अगस्त : सामाजिक सरोकारका मुद्दाहरूको  उठान र यसको समाधानका लागि  गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) दार्जीलिङले गोरामुमो जनचेतना सङ्घर्ष समिति गठन गरेको छ। शनिवार गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष अजय एड्वर्डको अध्यक्षतामा गठित उक्त कमिटीमा अध्यक्षा मञ्जिला तामाङ र महासचिव रञ्जिता सुब्बा रहेका छन्।

उल्लेखनीय छ, मञ्जिला तामाङ र रञ्जिता सुब्बाहरूले गोर्खा राष्ट्रिय नारी सङ्गठनको ब्यानरमा केही दिन अघिदेखि लगातार सामाजिक  सरोकारमा मुद्दाहरू उठाउँदै आइरहेका थिए।

अर्कोतिर, अजय एड्वर्डले जनचेतना सङ्घर्ष समितिले दार्जीलिङका जनताका हित र अधिकारका मुद्दाहरूबारे कार्य गर्ने जनाए। एड्वर्डका अनुसार यो समिति दार्जीलिङका मौन जनताको आवाज बनेर कार्य गर्नेछ।

भ्रष्टाचारकै कारण दार्जीलिङ पहाड़ अघि बढ़्न नसकेको बताउँदै उनले भने, “यदि कुनै क्षेत्रमा भ्रष्टाचार हुँदैछ, यदि तपाईंहरूलाई कुनै पनि विभागमा घूस, कट-मनी र कमिशन माग्यो भने यो नयाँ संस्थाले तपाईंहरूका लागि बोलिदिनेछ।” यसका लागि चाँड़ै वाट्सएप ग्रुप र फेसबुक पेज खोल्ने   गोरामुमो ब्राञ्च कमिटीका अध्यक्षको भनाइ छ।

“राजनीतिक होइन, तर सामाजिक कुराहरूलाई लिएर गोरामुमो परिवार अघि बढ़िरहेको छ”, उनले थपे, “तपाईंहरूको आवाज हामी हुनेछौं।” उनले जनतामा रहेका गुनासो र आपत्ति लिएर समितिकहाँ आइदिने अपील गर्दै जनताको आवाज बोकेर सम्बन्धित निकायसम्म समिति जाने पनि खुलाएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here