थप अर्को शव बरामद, राकेशको कि गौरव शर्माको? खुट्याउनै गाह्रो

0
1279

सिलगढ़ी, 3 अगस्त : शुक्रवार राति गजलडोबास्थित टिस्टा नदीको तटबाट एक सड़िसड़ेको शव बरामद भएको छ। यद्यपि शव पूर्ण रूपले सड़िसकेकोले कसको हो भनेर खुट्याउन सकिरहेको छैन। शव सम्भवतः इनोभा चालक राकेश राईको नभए राजस्थान निवासी पर्यटक गौरव शर्माको हुनसक्छ।

पुलिसले शवलाई बरामद गरी  उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल पठाइएको छ। यसैबीच  शव पूर्ण रूपले सड़िसकेकोले  चालक राकेश राईका परिवारले पनि  शव राकेश राईको हो/होइन भन्ने ठिम्याउनै सकेनन्। राईका परिवार पनि शवलाई लिएर अन्योलमा परेका छन्।

यसैबीच पुलिसले शव पाइएको  घटनाबारे बेपता बनेका पर्यटक गौरव शर्माका परिवारलाई सूचित गरिएको छ। गौरवका परिवार आइतवारसम्म राजस्थानबाट सिलगढ़ी आइपुग्ने अनुमान सकिएको छ। शव नाङ्गो रहेको र अत्यधिक सड़िसकेकोले त्यसको छेउमा गएर ठिम्याउनै गाह्रो परिरहेको छ।

चालक राकेश राईका दाजु रविन राईले भने, “शवको उँचाइ र आकारलाई हेर्दा शव मेरो भाइकै जस्तो छ। यद्यपि शव मेरो भाइकै हो भन्ने कुरामा शङ्का छ।” यसैबीच अखिल भारतीय जनसङ्घको महिला मोर्चा पश्चिम बङ्गाल राज्यकी संयोजक शिखा कुँवर र कर्मठ सदस्य ममता मजुमदारले पनि शनिवार उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा उपस्थित थिए।

शिखा कुँवरले भनिन्, “शरीर पूर्ण रूपले सड़ेर छत-विछत भएकोले चिह्नित गर्न गाह्रो परिरहेको छ। गौरवका आफन्तहरू सिलगढ़ी आएर शवलाई हेरेपछि मात्र कसको हो भन्ने कुरा पत्तो लाग्नेछ।”

उल्लेखनीय छ, पछिल्लो 10 जुलाईको  दिन बाघडुग्रा हवाइअड्डाबाट गान्तोकतर्फ गइरहेको डब्ल्यूबी 73 ई 2940 नम्बरको इनोभा कार राष्ट्रिय राजमार्गअन्तर्गत बाघपुलनजिक दुर्घटनामा परेर सोझै टिस्टा नदीमा खस्दा उल्लिखित दुवैजना बेपता बनेका छन्। जसको अझैसम्म टुङ्गो लाग्न सकेको छैन।

स्मरणरहोस्, उक्त वाहनमा राजस्थानका तीन पर्यटक चालक गरी चारजना सवार थिए। यद्यपि 12 जुलाईको दिन गजलडोबास्थित टिस्टा क्यानलबाट अमन गर्ग र दुर्घटनाको 16 दिनपछि कोचबिहार जिल्लाको हल्दीबारीबाट गोपाल नरवानीको शव बरामद भएको थियो। दुर्घटनाग्रस्त इनोभा कारको भने अझै पत्तो लाग्न सकेको छैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here