मङ्गलसिंह राजपुतका त्याग र बलिदान हाम्रो मुक्तिका लागि : अनित थापा

0
1448
शहीद मङ्गलसिंह राजपुतको पुण्य तिथि पालन गर्दै विनयपन्थी मोर्चाका पदाधिकारीहरू।

खरसाङ, 3 अगस्त :  2013 को गोर्खाल्यान्ड आन्दोलनमा कालेबुङको मुटु मानिने डम्बर चोकमा छुट्टै राज्य प्राप्तिका लागि आत्मदाह गरेका शहीद मङ्गलसिंह राजपुतप्रति विनय तामाङपन्थी गोजमुमो महासचिव अनित थापाले श्रद्धाञ्जली अर्पण गरेका छन्।

‘सपुत मङ्गलसिंह राजपुतको त्याग र बलिदान हाम्रो मुक्तिको लागि हो। जबसम्म हामी मुक्तिको सङ्घर्षलाई अन्तिम लक्ष्यमा पुऱ्याउन सक्दैनौं, तबसम्म उनीप्रति साँचो श्रद्धाञ्जली हुनेछैन’, उनले भनेका छन्। आजकै दिन मङ्गलसिंह राजपुतले छुट्टै राज्यका लागि आफ्नो प्राणको बलिदान दिएका थिए। यसै पुनित दिनमा थापाले शहीद राजपुतको त्याग र बलिदानलाई स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

एक प्रेस विज्ञप्ति जारी गरी अनितले भनेका छन्, ‘आज हामीलाई माटो र मुक्तिका लागि सङ्घर्ष गर्ने जुन ऊर्जा प्राप्त भएको छ, त्यो मङ्गलसिंह राजपुतजस्ता सपुतको त्याग र बलिदानले प्राप्त भएको छ। मङ्गलसिंह राजपुतजस्ता सपुतका प्राणोत्सर्गले नै हामीलाई मुक्तिको सङ्घर्षको मार्ग प्रशस्त गरेर यसलाई कुन दिशामा अगाड़ि बढ़ाउने भन्नेबारेमा दिशा निर्देशन समेत गर्दैआएको कुरा हामीले हामीले भुल्न हुँदैन। यसैले हामीले मङ्गलसिंह राजपुतको योगदानलाई आत्मसात गर्दै भौतिक एवं बौद्धिक विकासमाथि जोड़ दिँदैआएका छौं।’

उनले थप भनेका छन्, ‘मङ्गलसिंहजस्ता अन्य सपुतहरूको योगदानलाई पनि आजको यस पुनीत दिनमा स्मरण गर्दै हामीले जुन रणनीतिका साथ जातीय मुक्ति र सङ्घर्षलाई अघि बढ़ाउने प्रयास गरिल्याएका छौं, यसलाई त्यसरी नै अगाड़ि बढ़ाएर लैजान हामी कटिबद्ध छौं। मङ्गलसिंह राजपुतका आत्मोत्सर्ग जाति र माटोको लागि हो। र, हाम्रो अन्तिम लक्ष्य पनि यही हो। यस सङ्घर्षलाई नयाँ रणनीति र नयाँ संस्कारमा क्रमबद्ध ढङ्गमा यसलाई अगाड़ि लिएर जानपर्छ।’

थापाले जातीय मुक्ति र सङ्घर्षको नाममा राजनीति मात्र गर्न नहुने पनि सुझाएका छन् भने सङ्घर्षको पर्याय र प्रेरणा भएर मङ्गलसिंह युगयुगान्तर बाँच्ने बताएका छन्।

अर्कोतिर आज विनयपन्थी गोजमुमो कालेबुङ जिल्ला कमिटीले स्थानीय शहीद वेदीमा शहीद मङ्गलसिंह राजपुतको छैटौं पूण्य तिथि पालन गऱ्यो। यसअवसरमा जिल्ला कमिटीका पदाधिकारीलगायत कार्यकर्ताहरू उपस्थित रहेको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here