भाजपालाई विस चुनाउअघि ठूलो झट्का लाग्ने! 21 जना भाजपा नेता तृणमूलमा सामेल हुने चर्चा

0
1130

कोलकाता, 3 अगस्तः आउँदो वर्ष हुने बङ्गाल विधानसभा चुनाउअघि भारतीय जनता पार्टीलाई ठूलो झट्का लाग्न सक्छ। सूत्रका अनुसार भाजपाका 21 नेता तृणमूल कङ्ग्रेसमा सामेल हुने सम्भावना छ, यी 21 जनामध्ये 4 सांसद 1 विधायक र 16 पार्षद् सामेल छन्।

सूत्रका अनुसार 21 जनामध्ये धेरजसो तृणमूल कङ्ग्रेसबाट भाजपामा सामेल भएका थिए भने अब तृणमूल कङ्ग्रेसमै फर्किने योजना बनाइरहेका छन्।

यदि यी नेताहरू साँच्चै तृणमूल कङ्ग्रेसमा सामेल भएमा विधानसभा चुनाउअघि भाजपालाई ठूलो झट्का लाग्नेछ। न्युज च्यानल टाइम्स नाउ-का अनुसार आउँदा दिनमा 21 भाजपा नेता तृणमूल कङ्ग्रेसमा सामेल हुनसक्छन्। यीमध्ये चारजना यस्ता सांसद छन्, जो पछिल्लो लोकसभा चुनाउअघि या चुनाउ परिणामपछि लगत्तै भाजपामा सामेल भएका थिए। यसै गरी एक विधायक पनि तृणमूल कङ्ग्रेसमा फर्किन चाहन्छन्।

सूत्रका अनुसार  दुईपटक सांसद निर्वाचित भइसकेका बङ्गालका एक अन्य भाजपा सांसद पनि पछिल्ला तीन महिनादेखि दिल्लीमा तृणमूल कङ्ग्रेसका नेताहरूको सम्पर्कमा रहेको तथा तृणमूल कङ्ग्रेसमा सामेल हुने इच्छा जताइरहेका छन्।

भाजपा नेताहरू तृणमूल कङ्ग्रेसमा सामेल हुने खबरले प्रदेश नेतृत्वमाथि प्रश्न उठिरहेको छ। स्मरणरहोस्, मुकुल राय र पश्चिम बङ्गाल भाजपा अध्यक्ष दिलीप घोषबीच खिँचातानी चलिरहेको छ।

यसै वर्ष दिलीप घोषलाई पार्टीले दोस्रोपटक अध्यक्ष बनाएपछि तृणमूलबाट भाजपामा सामेल भएका मुकुल राय र उनका समर्थकहरू असन्तुष्ट बनेका थिए। मुकुल रायलगायत उनका समर्थकहरूले भाजपा छोड़्ने चर्चा चुलिरहेको छ।

यद्यपि दुई दिन अघि मात्र मुकुल रायले यो चर्चालाई ‘अफवाह’-को संज्ञा दिँदै भाजपा नछोड़्ने बताएका थिए। तथापि 21 जना भाजपा नेता तृणमूल कङ्ग्रेसमा सामेल हुने चर्चा फेरि चुलिएपछि मुकुल राय र दिलीप घोषबीचको मतभेद सतहमा देखिएको छ।

वास्तवमा पछिल्ला केही दिनदेखि दिलीप घोषको नेतृत्वमाथि प्रश्न उठिरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here