दार्जीलिङ, 3 अगस्तः दार्जीलिङका सांसद राजु बिष्टले आमरण अनशनकारी एसपी शर्माले मागेको प्रश्नको जवाब लिखितरूपमा दिनु सांसदको समय बर्बाद गर्नु मात्र रहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को भनाइ छ।
यसैले सांसदले शर्मालाई लिखितरूपमा केही नदिए पनि हुने गोरामुमोले बताएको छ।
गोरामुमो दार्जीलिङ ब्राञ्च महासचिव सन्दीप लिम्बूले यसो भन्दै आमरण अनशनका कारण एसपी शर्मामाथि केही भए उनकै पार्टी जिम्मेवार हुनपर्ने पनि बताए।
उनले दार्जीलिङका सांसद राजु बिष्टले दार्जीलिङका लागि धेरै काम गरिसकेको दावी त्यसको विवरण सामाजिक सञ्जालहरूमा लछेप्रै पाइने पनि जनाए।
यद्यपि यसै मागमाथि आमरण अनशनको नाटक गरी एसपी शर्माले जनताका आँखामा धुलो हाल्ने प्रयास गरिरहेको पनि लिम्बूले आरोप लगाएका छन्।
गोरामुमो सांसद बिष्टका कामकाजमाथि पूर्णरूपले सन्तुष्ट रहेको पनि उनले बताएका छन्। साथै आउँदा दिनमा सांसद बिष्टकै पहलमा दार्जीलिङका लागि निश्चित रूपले असल कार्य हुने कुरामा पनि आशावादी रहेको जनाए।
“गोर्खा लीगका नेता एसपी शर्माले दार्जीलिङका सांसद राजु बिष्ट अनि विधायक नीरज जिम्बाले केही काम नगरेको आरोप लगाउँदै आमरण भोक हड़ताल शुरू गरेका छन्। तर सांसद बिष्टले दार्जीलिङका लागि धेरै काम गरिरहेका छन्। सांसद बिष्टकै पहलमा दार्जीलिङका शीर्ष नेतृत्वहरूले केन्द्रीय गृहमन्त्री अमित शाहसित पनि भेट गर्ने अवसर पाएका छन्, उनीसित दार्जीलिङको समस्याबारे चर्चा गर्ने समय पाइरहेको छ”, लिम्बूले थपे, “तर, एसपी शर्माहरूले केवल यहाँ राजनीति गरिरहेका छन्। विगतमा दार्जीलिङका जनताले नाच्ने सांसदहरू मात्रै सांसद पठाएका थिए। तर 2019-मा दार्जीलिङका जनताले सही काम गर्ने सांसदलाई संसद पठाएका छन्। यसैले उनकै नेतृत्व वा पहलमा दार्जीलिङले अवश्यै ठोस उपलब्धि हासिल गर्नेछ।”
उनका अनुसार राजु बिष्ट सांसद बनेको 2 वर्षभन्दा केही अधिक समय मात्रै हुँदैछ। यसमा पनि करिब डेढ़ वर्ष कोरोना सङ्क्रमणले गर्दा नै उनले ठीकसित काम गर्ने अवसर पाएनन्।
यद्यपि यसअवधि पनि सांसदले दार्जीलिङ पहाड़मा अक्सिजन कन्सन्ट्रेटर साथै अन्य आवश्यक सामानहरू दिएर दार्जीलिङका जनताको सेवा नै गर्ने काम गरेको यी गोरामुमो नेताले बताए।
“यति मात्रै होइन, लोकसभा अध्यक्षलाई सम्बोधन गरेर उनले दार्जीलिङका धेरै समस्याबारे कुरा उठाइसकेका छन्। यसैले एसपी शर्माको माग पूरा गर्नका लागि सांसदले लिखितरूपमा जवाब दिइरहने कुनै आवश्यकता छैन”, गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका महासचिव सन्दीप लिम्बूले भने।
यसैगरी उनले सांसद राजु बिष्टको आवाजलाई दबाउने षड्यन्त्र भइरहेको आरोप लगाउँदै जसले सांसदको राजीनामाको माग गर्दैछन्, उनीहरू पहाड़को भलाइ चाहने व्यक्तिहरू नरहेको पनि बताए।
“व्यक्तिगत र पार्टीगत फाइदाका लागि उनीहरूले सांसदको राजीनामा माग्दैछन्”, उनले थपे, “असलमा यी व्यक्तिहरू स्थायी राजनीतिक समाधान र 11 जातगोष्ठीले जनजातिको मान्यता पाउने बेलाका बाधकहरू हुन्।”
यति मात्र होइन, सांसदले राजीनामा दिएको खण्डमा यी दुईवटा समस्या समाधान हुन्छ भनी लिम्बूले विपक्षी पार्टीहरूलाई प्रश्न पनि गरेका छन्।
साथै उनले राजु बिष्टले अहिलेसम्म 99 प्रतिशत कार्य गरिसकेको र अब केवल 1 प्रतिशत बाँकी रहेको, बाँकी रहेको त्यो एकै प्रतिशतमा स्थायी राजनीतिक समाधान र ११ जातगोष्ठीलाई जनजातिको मान्यता रहेको पनि दावी गरे।
सांसद राजु बिष्टले गरेको कामहरुको लछेप्रै प्रमाणहरु छ भने कुनै दशवटाको उदाहरण दिउन। एस पी शर्माको सांसदलाई गरेको प्रश्नहरु 11 जातको विषय र गोर्खाल्यान्ड बारेको विषयमा कति काम भयो जानकारी देउ भन्ने हो।