दार्जीलिङ, ३ अगस्तः भारती गुट गोर्खा लीगले जुन सवाल उठाएको छ, त्यो सवाल सम्पूर्ण भारतीय गोर्खाका सवाल रहेको किशोर प्रधानले बताएका छन्।
आज किशोर प्रधान, विक्रम छेत्री, विन्द्या डुक्पा र सुमित्रा तामाङ सम्मिलित एक टिम गोर्खा लीगको पार्टी कार्यालय पुगेर आमरण भोक हडताललाई समर्थन जनायो।
यसपछि पत्रकारहरूलाई सम्बोधन गर्दै प्रधानले भने, “गोर्खा लीगले उठाएको सवाल भनेको हाम्रो सवाल हो। हाम्रो सवाल भनेको गोर्खा जातिमाथि जति पनि राजनीति पार्टीहरू गठन भएका छन्, ती सम्पूर्णको सवाल हो। र यो सवाल भनेको सांसद राजु बिष्टको पनि सवाल हो। यो सबैका सवाल हो भने हामीले सबैले यसलाई किन एकै प्रकारले हेर्न सकिरहेका छैनौँ?”
अर्कोतर्फ गोर्खा लीगले आमरण भोक हड़ताल कसका लागि गरिरहेको छ भन्ने जान्नका लागि यसलाई मन र मस्तिष्कबाट हेर्ने उनले जनतालाई सुझाए।
यति मात्र होइन, किशोर प्रधानले गोर्खा लीग महासचिव एसपी शर्मा आफै भोक हड़ताल बस्नु सामान्य कुरा नरहेको तथा यो भोक हड़ताल राजनीतिक माइलखुट्टी भएको पनि बताए।