असमका एक लाख गोर्खालाई न्याय दिलाउन पहाड़बाट हामी आन्दोलन शुरु गर्नेछौं : विनय

0
1404
विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ, 3 सेप्टेम्बर : एनआरसीबाट छुटेका असमका एक लाख गोर्खालाई न्याय दिलाउनका लागि दार्जीलिङ पहाड़बाट आन्दोलन शुरु गर्ने गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का अध्यक्ष विनय तामाङले बताएका छन्। भारतभरिका गोर्खाहरूलाई  सड़कमा ल्याएर एनआरसीको विरोध गर्ने तामाङको दाबी छ।

मङ्गलवार एक विज्ञप्ति जारी उनले यस्तो दाबी गरेका हुन्। ‘असमका सबै गोर्खा खाँटी भारतीय नागरिक हुन्। र असम राज्य निर्माणका उनीहरूले आफ्नो रगत-पसिना खर्चेका छन्’, विनयले विज्ञप्तिमा भनेका छन्, ‘ती गोर्खाहरूली भाजपाले एनआरसीबाट बाहिर गरेर विदेशी बनाउँछन् भने सम्पूर्ण गोर्खा सड़कमा ओर्लेर यसको विरोध गर्नेछन्। असमका ती एक लाख गोर्खालाई न्याय दिलाउन दार्जीलिङ पहाड़बाट हामी आन्दोलन शुरु गर्नेछौं। र, भारतका प्रत्येक प्रान्तका गोर्खाहरूलाई लिएर सड़कमा ओर्लिनेछौं।’

उनले आफूहरू एनआरसीको विरोधमा कदापि नरहेको तर एनआरसीको नाममा असमको भूमिबाट त्यहाँका एक लाखभन्दा बढ़ी भूमिपूत्र गोर्खालाई शरणार्थी बनाउन भाजपाले गरिरहेको षड़यन्त्रको भने विरोधमा रहेको बताएका छन्।

विज्ञप्तिमा तामाङले भाजपा, विमल गुरुङ, राजु विष्ट र नीरज जिम्बासमेतको आलोचना गरेका छन्। एनआरसी र छुटेका गोर्खा सम्बन्धमा उनीहरू सबैले झूटो बोलिरहेको विनयको आरोप छ।

अर्कोतिर विमल गुरुङले एनआरसीबारे जानकारी लिन र  तथ्य बटुल्न सांसद राजु विष्ट पार्टी प्रवक्ता बीपी बजगाइँ र विधायक नीरज जिम्बालाई असम पठाउने बताएपछि एनआरसीलाई लिएर सांसद विष्ट र विधायक जिम्बाले झूट बोलिरहेको प्रमाणित भएको तामाङको दाबी छ।

उनका अनुसार विष्ट र जिम्बालाई  गोर्खाहरूको सुरक्षा र राष्ट्रिय चिनारीभन्दा धेर भाजपाको चिन्ता छ। यी दुईले दिनहुँ बोलिरहेको झूटबाट यो कुरा प्रमाणित हुन्छ। ‘असमका एक लाख गोर्खा एनआरसीबाट बाहिर भएको सत्य खबरलाई समेत अफवाह बताएर उनले (सांसदले) भाजपा सरकारको कर्तुत ढाकछोप गरिरहेका छन्’, उनको आरोप छ।

विनयले विज्ञप्तिमा थप भनेका छन्, ‘एक लाख गोर्खालाई एनआरसीबाट हटाइएको समाचार अफवाह मात्र रहेको दाबी गर्ने राजु विष्ट र नीरज जिम्बालाई भाजपाका सांसद र विधायक होइन, तर गोर्खा भएर सोचिदिने हामी सुझाउ दिन्छौं। गोर्खाहरूले आफ्नो राष्ट्रिय सुरक्षा र चिनारीका लागि उनीहरूलाई सांसद र विधायक बनाएका हुन्। उनीहरूले पनि गोर्खाहरूको सुरक्षा र चिनारीका लागि कार्य गर्छु भनेर भोट मागेका हुन्।’

उनका अनुसार गोर्खाहरूका सांसद विधायक बनेपछि गोर्खाहरूको पक्षमा नबोलेर, भाजपा पार्टीका कार्यकर्ताजस्तो भएर बोल्नु दुर्भाग्यको कुरा हो। ‘यदि उक्त समाचार अफवाह मात्रै हो भने केन्द्र सरकारलाई चाँड़ै ती गोर्खाहरू एनआरसीभित्र रहेको तथा उनीहरू सुरक्षित रहेको स्पष्टीकरण दिनुपर्ने दबाउ राजु विष्ट र नीरज जिम्बाले दिउन्। अन्यथा झूटो बोलेर गोर्खाहरूलाई भड़्खालोमा हाल्ने काम नगरुन्’, विनयले भनेका छन्।

अर्कोतिर, विमल गुरुङले पठाउने प्रतिनिधि टोलीले असमको सत्य तथ्य लुकाउने कोशिश गर्न नहुने चेताउनी पनि उनको छ। साथै ‘भाजपाकै कृपामा बसिरहेको विमल गुरुङले भाजपाकै सांसद राजु विष्ट, विधायक नीरज जिम्बा र बीपी बजगाइँलाई असम पठाएक सत्य तथ्यलाई ढाकछोप गरी भाजपालाई नै सही देखाएर 1 लाख गोर्खालाई बिचल्ली बनाउन हो कि भन्ने’ आफूहरूलाई शङ्का रहेको गोजमुमो दोस्रो खेमाका अध्यक्षको भनाइ छ। ‘यसैले उनीहरूको असम भ्रमणमाथि हाम्रो गिद्दे नजर रहनेछ’, विनयले भनेका छन्।

यसका साथै एनआरसी विषयलाई लिएर विस्तृत चर्चा-परिचर्चाहेतु 4 सेप्टेम्बरको दिन दार्जीलिङमा पार्टीको उच्चस्तरीय बैठक आयोजन गरेको तथा एनआरसीबारे राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग छलफल तथा कुरा गर्न उनको पार्टीको एक प्रतिनिधि टोली कोलकाता जानेसमेत जानकारी गराएका छन्।

‘हामीले आफै पनि असमका ती गोर्खाहरूको विषयमा निरन्तर जानकारी लिइरहेका छौं। साथै यस विषयमा मुख्यमन्त्री ममता ब्यानर्जीसँग पनि सम्पर्कमा रहेका छौं’, तामाङले थप भनेका छन्, ‘यसै क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले पनि असमका एक लाख गोर्खाको पक्षमा बयान दिएर गोर्खाहरूको बनोबल बढ़ाइदिएकी छन्। यसैले हामी गोर्खाहरू पनि अब सतर्क भएर बस्ने समय आएको छ।’

असममा झैं दार्जीलिङ पहाड़लगायत अन्य राज्यहरूमा पनि एनआरसीको नाममा गरेर गोर्खाहरूलाई उच्छेद गर्ने भाजपाको उद्देश्य रहेको आफूहरूले बुझिसकेको उनको दाबी छ।

भाजपाको यो नियतलाई बुझेर सबै गोर्खा एकजुट भई अघि आउनु आवश्यक छ। आज असमबाट एक लाख गोर्खालाई शरणार्थी बनाउने भाजपाले भोलिको दिनमा दार्जीलिङ पहाड़ अनि देशका हरेक प्रान्तबाट गोर्खाहरूलाई विदेशी भन्दै खेदुवा लगाउन पछि हट्ने छैन’, उनले भनेका छन्, ‘यसैले समयमा नै भाजपाको उक्त नियत बुझेर एक लाख गोर्खालाई सम्मानसहित उनीहरूको आफ्नो मातृभूमि असमको  माटोमा भारतीय नागरिक भएर बसोबास गर्न पाउनुपर्छ भन्ने अभियानमा हामी सबै आजैदेखि एकजुट बनौं। असममा ती एक लाख गोर्खा सुरक्षित रहे मात्र हाम्रो भविष्य पनि सुरक्षित हुनेछ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here