गान्तोक, ३ सेप्टेम्बरः पछिल्ला केही दिनदेखि लगातार परिरहेको पानीका कारण सिक्किमका ठाउँ ठाउँमा पैह्रो गएका खबरहरू प्रकाशमा आइरहेका छन्।
पैह्रोका कारण जनजीवन प्रभावित बनेका छन्। केही घर पैह्रोको चपेटमा आएका छन्। सडक सम्पर्क ठाउँ ठाउँमा विच्छिन्न बनेका छन्।
दक्षिण सिक्किमको याङ्गाङ समष्टिको श्रीपताम-ग्यागोङ पञ्चायत एकाइमा पनि ठाउँ ठाउँमा पैह्रो गएका कारण जनजीवन प्रभावित बनेका छन्।
हिजो यहाँ ठाउँ-ठाउँमा गएका पैह्रोले करिब एक दर्जन घरलाई क्षति पुऱ्याउनका साथै केही अन्य घर पैह्रोको चपेटमा आएको पञ्चायत सभापति रञ्जिता गुरुङले बताएकी छन्।
उनका अनुसार आज बिहान मेङ्लीमा माथिबाट ठूलो पैह्रो झर्दा एउटा घर क्षतिग्रस्त भएको छ। अन्य केही घर पैह्रोको चपेटमा आएका छन्, जसका कारण स्थानीय मानिसहरू भयभीत बनेका छन्।
पैह्रोकै कारण याङ्गाङ-सिङ्ताम रोड पूर्ण रूपमा बन्द भएको छ। यो रोड खुल्न केही दिन लाग्ने बताइएको छ।
पैह्रोले पुऱ्याएको क्षतिको आकलन गर्न विभागीय टोली मेङ्लीतर्फ गएको पनि जानकारी प्राप्त भएको छ।
लगातार पानी परिरहेकाले यस क्षेत्रका ठाउँ ठाउँमा भल पैह्रो चलेको हो।
उल्लेखनीय छ, बुधबार रातिदेखि परेको मुसलधारे वर्षाका कारण दक्षिण सिक्किम याङ्गाङ बजार तथा यस वरिपरिका गाउँमा धेरै क्षति भएको छ।
रातभरका भलपैह्रोका कारण अस्त व्यस्त बनेको याङ्गाङ बजार तथा यस वरिपरिका क्षेत्रको भ्रमण गरेर स्थानीय प्रशासनले क्षतिको आकलन गर्ने गरेको थियो।
याङ्गाङका बीडीओ विष्णु थापाको नेतृत्वमा विभिन्न विभागीय अधिकारी तथा अभियन्ताले हिजो प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेका थिए। यद्यपि विभिन्न स्थानमा सडक मार्ग बाधित भएका कारण निरीक्षण टोली क्षति भएका सबै स्थानमा पुग्न असमर्थ बनेको थियो।
विशेषगरी पाथिङ तथा देवीथानमा सड़क मार्ग बाधित भएका कारण निरीक्षण टोलीले आज राङ्गाङ, गाग्योङ र याङ्गाङमा भएको क्षतिको मात्र आकलन गर्न सकिएको जानकारी प्राप्त भएको छ।
अर्कोतर्फ श्रीपताम-गाग्योङ ग्राम पञ्चायत सभापति रञ्जिता गुरुङले जानकारी दिएअनुसार याङ्गाङ-सिङ्ताम सडक मार्ग धेरै स्थानमा प्रभावित बनेको छ।
ग्राम प्रशासन केन्द्र नजिकबाट झरेको पैह्रोले यो सड़क मार्ग धेरै स्थानमा प्रभावित बनेको हो।
उनले जानकारी दिएका अनुसार कालुङडाँड़ा र सिरिसे डाँड़ामा पनि सडक मार्गलाई धेरै क्षति भएको छ।
श्रीपताम-गाग्योङ ग्राम पञ्चायत युनिटमा ९ वटा घरमा पैह्रोले क्षति भएको छ भने यसमध्येका एक परिवारलाई सुरक्षित स्थानमा सरेका छन्।
भल पैह्रोका कारण धानखेतीलाई पनि क्षति पुऱ्याएको पनि पञ्चायत सभापति गुरुङले जानकारी दिएकी छन्।