सिलगढी, ३ सेप्टेम्बरः क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी अर्थात क्रामाकपाका पूर्व प्रवक्ता गोविन्द छेत्री अब सशरीर हामीमाझ रहेनन् ।
आज उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा उपचाराधीन अवस्थामा उनको मृत्यु भएको हो । छेत्री ६२ वर्ष पुगेका थिए ।
सिकिस्त बनेपछि आज बिहान उनलाई उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरिएको थियो तर दिउँसो २.४५ बजे उनको निधन भयो । छेत्री लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए भने पछिल्लो एकवर्षदेखि पार्टीको साङ्गठनिक गतिविधिबाट समेत टाढा बसेका थिए ।
२८ जुलाई १९६० मा जन्मेका गोविन्द छेत्री दार्जिलिङ पहाडका एक जुझारू नेता थिए । साथै क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-को गठनको पनि उनको भूमिका महत्त्वपूर्ण थियो । तत्कालीन मार्क्सवादी कम्युनिस्ट पार्टी अर्थात माकपामा अन्तर्विरोध भएपछि १९९६ मा माकपाबाट अलग्गिएर क्रामाकपा गठन गर्दा गोविन्द छेत्रीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए , त्यसपछि उनले सधैँ छुट्टै राज्य गोर्खाल्यान्ड गठनको वकालती गरिरहे ।
जानकारीका अनुसार छेत्रीको पार्थिव शरीरलाई दार्जिलिङ लगिनेछ । साथै भोलि उनको अन्ति संस्कार गरिने पनि पार्टी सूत्रले जानकारी गराएको छ।
यसैबिच गोविन्द छेत्रीको निधनप्रति दार्जिलिङका सांसद राजु विष्टले गहिरो शोक प्रकट गरेका छन् ।