रिले अनशन शुरु, भोलि 12 घण्टे बन्दलाई पालन गरिदिने अपील

0
1298
रिले अनशनमा बसेका श्रमिक नेताहरू।

दार्जीलिङ, 3 अक्टोबरः  भोलि अर्थात् 12 घण्टा दार्जीलिङ पहाड़ बन्दको आह्वानसँगै दार्जीलिङका शीर्ष 14 जना श्रमिक नेता बिहीवार साँझ 6 बजेसम्म रिले अनशनमा बसे।

अनशनमा बस्ने श्रमिक नेताहरूमा पूर्व सांसद समन पाठक, अमर लामा, एनबी खवास, सुनिल राई, जेबी तामाङ,  भरत ठकुरी, धीरज राई, एसके लामा, आरसी गिरी, दीपक प्रधान, भुपेन छेत्री, रिजना राईलगायत अन्य सामेल थिए।

विनय तामाङपन्थी गोजमुमो, गोरामुमो, माकपा, क्रामाकपा, जाप, कङ्ग्रेस, तृणमूल कग्रेस र गोर्खालीग आदि पार्टीका श्रमिक सङ्गठनहरूका शीर्ष नेतृत्वहरूसँगै आजदेखि नै चियाबगान स्तरमा पनि अनशन शुरु भएको छ।

दार्जीलिङ पहाड़का चियाश्रमिकहरूको बोनसबारे अझैसम्म पनि कुनै छलफल हुन नसकेको विरोध तथा 20 प्रतिशत बोनसको मागमा नै दार्जीलिङ पहाड़मा श्रमिक आन्दोलन शुरु भएको छ, जसको फलस्वरूप महान् पर्व दशैंबीचमा नै दार्जीलिङ पहाड़ फेरि एकपल्ट अचल बन्ने भएको छ।

संयुक्त श्रमिक सङ्गठनले भोलि बिहान 4 बजेदेखि साँझ 4 बजीसम्म दार्जीलिङ पहाड़ बन्द रहने घोषणा गर्दै यस बन्दबाट स्कूल, कलेज, राष्ट्रिय राजमार्ग 10-का साथै आवश्यक सेवाहरूलाई छूट दिइएको बताएको छ।

आज यहाँको मोटर स्ट्याण्ड परिसरमा बिहान 10 बजी शुरु गरिएको यो रिले अनशन बस्नअघि स्थानीय रेलवे स्टेशनदेखि एक र्‍याली पनि निकालिएको थियो, जसमा विभिन्न पार्टीका समर्थकहरूले आ-आफ्नो पार्टीको झण्डा लिएर चियाकमानका मालिकहरूविरुद्ध चर्को नाराबाजी गरेका थिए।

यसैबीच, विनयपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लाण्टेशन लेबर युनियन दार्जीलिङ महकुमा समिति अध्यक्ष बालम तामाङले भोलि पहाड़का सबै शहरी क्षेत्र, यातायात सेवा, चियाबगान, सरकारी कार्यालय सबैलाई ठप्प राखिने बताए। उनले चियाश्रमिकहरूको यो लड़ाइँलाई सम्पूर्ण दार्जीलिङ पहाड़का आम जनतालाई पनि साथ दिने अपील गर्दै चियाकमानका मालिकहरूको शोषणको विरोधमा सबैलाई एकताको सूत्रमा बाँधिने पनि आह्वान गरेका छन्।

दार्जीलिङ पहाड़का श्रमिक आन्दोलनमा प्रथमपल्ट सबै राजनीतिक पार्टीका श्रमिक सङ्गठनहरू एकबद्ध भएका छन् भने सबैले एकै स्वरमा श्रमिक हितको आन्दोलनलाई अघि बढ़ाइरहेका छन्।

अर्कोतिर गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले चियाकमानका मालिकहरूलाई दिएको अल्टिमेटमको म्याद पनि भोलि 4 अक्टोबरको दिन समाप्त भइरहेको छ। यदि भोलिसम्म पनि चियाकमान मालिकहरूले दार्जीलिङ पहाड़का चियाश्रमिकहरूका लागि 20 प्रतिशत दरको बोनस दिने निर्णय नगरे 6 अक्टोबरदेखि आमरण अनशनमा जाने चेताउनी दिएका छन्।

यसै विषयलाई अघि सार्दै डीटीडीपीएलयू महकुमा समिति अध्यक्ष बालम तामाङले अन्य राजनीतिक पार्टीका शीर्ष नेताहरूलाई पनि विनय तामाङले जस्तै कठोर कदम चालिदिने अपील गरे। “ताकि उनीहरूको कठोर कदमले चियाकमानका मालिकहरू यहाँका चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस दिन बाध्य बनुन्”, उनले भने।

यसरी गरी दार्जीलिङ पहाड़का तकभर, रङ्मुक-सिडर्स, नागरी-धजे, पान्दामका साथै अन्य कैयौं चियाकमानहरूमा पनि आजदेखि चियाश्रमिकहरूले रिले अनशन शुरु गरेका छन्।

यसरी नै हिमालयन ट्रान्सपोर्ट कोअर्डिनेशन कमिटीले पनि भोलिको 12 घण्टे बन्दलाई समर्थन जनाउँदै बिहान 4 बजीदेखि साँज 4 बजीसम्म पहाड़मा चक्का जाम गरिने जनाएको छ।

अर्कोतिर, डीटीडीपीएलयूकी अध्यक्ष करुणा गुरुङले भोलिको 12 घण्टे पहाड़ बन्दावधि आवश्यकीय सेवाहरूलाई छोड़ेर दोकानपाट र यातायात अचल रहने बताएकी छन्। चियाश्रमिकहरूको बोनसका लागि गरिएको बन्द भएकोले पहाड़का सबै चियाकमान बन्द रहनेछन्। यद्यपि शैक्षिक संस्थानहरू भने खुल्ला रहनेछन्।   अर्कोतिर गान्तोक-सिलगढ़ी मार्ग भने खुलै राखिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here