दुर्लभ प्रजातिका उद्भिदसँगै यूपीका दुई युवक पक्राउ

0
1158
पक्रा परेका दुई व्यक्ति र बरामद गरिएका उद्भिदहरू।

दार्जीलिङ, 3 अक्टोबर : दार्जीलिङको सिञ्चेल वाइल्ड लाइफ रेञ्जले दुई युवकलाई व्यापक नागबेली, च्याउ, मसजस्ता जङ्गली उद्भिदसँगै पक्राउ गरेको छ। मस, नागबेली आदि उद्भिदलाई हाल विरलै पाइने प्रजातिको उद्भिद मानिन्छ। तर यी दुईबाट वाइल्ड लाइफ विभागले यसप्रकारको उद्भिद व्यापक मात्रामा जफत गरेको छ। वाइल्ड लाइफ विभागका अनुसार पक्रा पर्ने युवकद्वय गोरखपुर र लखनउनिवासी हुन्।

विभागले जानकारी गराएअनुसार पक्रा पर्ने युवकद्वयको नाम अनुराग मिश्र (29) र राहुल प्रकाश (31) हो। अनुराग गोरखपुर तथा राहुल लखनउकानिवासी हुन्। यी दुवै युवक एमबीएसम्मको शिक्षार्जन गरिसकेका छन्। त्यसैगरी राहुलको आफ्नै वैध रक्सी दोकान छ भने अनुराग एक नामी कम्पनीका कर्मचारी हुन्। तर, उनीहरूले दार्जीलिङबाट मस, नागबेली, च्याउजस्ता उद्भिद किन सङ्ग्रह गरिरहेका थिए भन्ने विषयमाथि जाँच शुरु भएको छ।

अर्कोतिर बरामद उद्भिदहरूको नमुना जाँच गर्नका लागि बोटानिकल सर्भे अफ् इण्डियामा पठाइएको विभागले बताएको छ।

यसबारे जानकारी गराउँदै वाइल्ड लाइफ सिञ्चेल वेष्ट रेञ्जका रेञ्जर ललितकुमार प्रधानले भने, “यी दुईलाई हिजो सिञ्चेल वाइल्ड क्षेत्रबाट पक्राउ गरिएको हो। उनीहरूलाई केरकार गरिँदा दुवैले सटीक जवाफदिन सकेनन्। जसको फलस्वरूप उनीहरू बसेको होटलको रूमको जाँच गरिएको थियो। यसैबीच होटलको रूम जाँच गर्दा ठूलो ड्रमभरि, ठूल्ठूला ब्यागहरूमा व्यापक मात्रामा मस, साथै नागबेली थुपारेर राखिएको पाइयो। यसपछि उनीहरूलाई पक्राउ गरी उचित जाँच शुरु गरिएको छ।”

विशेष गरी नागबेलीको पाउडरबाट गन पाउडर बनाउन सकिने पनि जानकारी पाइएको छ। पछिल्लो 29 सेप्टेम्बरको दिन दार्जीलिङ आएका यी दुई युवक आउँदो 5 अक्टोबरको दिन यहाँबाट प्रस्थान गर्ने भएका थिए। तर, यसअघि नै उनीहरू कानूनको हातमा परेका छन्।

यसै गरी जाँचको क्रममा यी दुईबाट 4 वटा मोबाइल पनि जफत गरिएको छ, जसबाट कल डिटेलहरू निकालिने भएको छ। विभागले यी दुईविरुद्ध वाइल्ड लाइफ प्रोटेक्शन एक्ट, बायोडायभर्सिटी एक्टअन्तर्गत मुद्दा दर्ता गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here